
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार दिउँसो बसेको बैठकका निर्णयबारे सञ्चार, सूचना तथा प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिएका हुन्।
मन्त्री तिमिल्सिनाका अनुसार बैठकले तीनवटा ऐन संशोधन गर्न बनेका विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
बैठकका मुख्य निर्णयहरू यसप्रकार छन्—
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरिएको छ। समितिमा अर्थ सचिव घनश्याम उपाध्याय र काठमाडौंका भूवनकुमार दाहाल सदस्य रहनेछन्।
नेपाल विशेष सेवा ऐन, २०४२ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।
मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लिराज आचार्य (प्युठान) लाई नियुक्त गर्ने तथा सदस्यमा नवराज सिम्खडा (धादिङ) र रोशनबहादुर शाक्य (ललितपुर) लाई मनोनयन गर्ने।
