
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–३ बाट पराजित उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजु पाण्डेलाई बधाई दिएका छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत पाण्डेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। उनले निर्वाचनमा आफूलाई विश्वास गर्दै अमूल्य मत प्रदान गर्ने क्षेत्रका सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन्।
घिसिङले मतदाताले देखाएको विश्वास र माया आफ्ना लागि सधैं प्रेरणाको स्रोत रहने उल्लेख गरेका छन्। उनले चुनावको परिणाम जे जस्तो भए पनि काठमाडौं–३ को समग्र विकास, सुशासन, समृद्धि र उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा पनि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, स्वयंसेवक तथा शुभेच्छुकलाई चुनावी अभियानमा दिएको साथ, सहयोग र मेहनतका लागि धन्यवाद समेत दिएका छन्।
