
काठमाडौं । नागढुङ्गा सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सडक विभागकाअनुसार आयोजनाको भौतिक प्रगति ९४.५ प्रतिशत पुगेको हो । साथै, आयोजनाको सम्पूर्ण निर्माण कार्य असोज महिना भित्रै सम्पन्न गर्ने लक्ष्य रखिएको छ ।
विभागकाअनुसार सुरुङमार्गको निर्माण कार्य सम्पन्न भए पश्चात आवश्यक ट्रायल र टेस्टहरू संचालन गरिनेछ ।
यद्यपी सुरुङमार्ग सर्वसाधारणका लागि भने कहिले खुल्ला हुन्छ भन्नेमा यकिन भइसकेको छैन । विभागकाअनुसार निकट भविष्यमै सर्वसाधारणका लागि प्रयोगमा ल्याउने तयारी तीव्र गतिमा भइरहेको छ।
विभागले सुरुङमार्गमा गुड्ने सवारी साधनहरूबाट उपभोग दस्तुर सङ्कलन गरी आगामी दिनमा सो सुरुडको मर्मत सम्भार तथा संचालनका लागि आवश्यक स्रोतको दिगो व्यवस्थापन गर्ने उद्देश्य समेत लिएको छ । विभागकाअनुसार गत साउन २६ गते बसेको नेपाल सरकार मन्त्रिपरिषदको बैठकबाट सुरुङमार्ग उपभोग दस्तुर समेत स्वीकृत भइसकेको छ ।
साथै नागढुङ्गा सुरुङमार्गको प्रयोगकर्ताबाट उपभोग दस्तुर संकलनको लागि आयोजना मार्फत विद्युतीय माध्यमबाट दस्तुर संकलन प्रयोजनार्थ आरएफआइडीमा आधारित टोल कलेक्सन प्रणाली लागू गर्ने निर्णय भएको र हाल उक्त प्रणाली जडान भइरहेको सडक विभागले जनाएको छ । यस प्रणालीको प्रयोगबाट सवारिसाधनको विन्डसिल्डमा टाँसिने बैंक खाता आवद्द भएको आरएफआइडी ट्यागमार्फत सोझै टोल भुक्तानी गर्न सकिनेछ । विभागकाअनुसार सड़क प्रयोग दस्तूर भुक्तानी प्रक्रिया छिटो, सुरक्षित र पारदर्शी हुने अपेक्षा गरिएको छ ।
सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतका लागि २४ घन्टा ७ दिन नै सेवा प्रदान गर्नुपर्ने, आपतकालीन अवस्थामा उद्दार कार्य, आगलागी भएको अवस्थामा आगो नियन्त्रण तथा सुरुङमार्गमा जडान भएका पावर सप्लाई, लाइटिङ्ग, भेन्टिलेसन, आन्तरिक सञ्चार, रिमोट मोनिटरिङ, आपत्तकालिन सुविधालगायतका उच्च प्रविधियुक्त प्रणालीहरूको नियमित संचालन, अनुगमन तथा मर्मतसम्भार गर्न दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय अनुभव आवश्यक भएकाले यो कार्य विशेषज्ञ सेवा प्रदायकबाट गराउनु उपयुक्त हुने विभागले जनाएको छ । यसका लागि लागि आवश्यक पर्ने विशेषता तथा मापदण्ड जापानीज परामर्शदाताबाट तयार भएको र विभागीय प्रमुखबाट स्वीकृत समेत भइसकेको छ।
हाल सड़क विभागले नागढुङ्गा सुरुङमार्ग संचालन, ब्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न सेवा खरीद कार्यको तयारी गरिरहेको पनि विभागले जानकारी दिएको छ। सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनको सेवा प्रदायक खरिद कार्यको लागि अर्थ मन्त्रालयबाट श्रोत सहमति प्राप्त भइसकेको छ भने सेवा खरिद प्रक्रियाको लागि आवश्यक खरिद निर्देशिका मन्त्रिपरिषदबाट स्वीकृत भईसकेको विभागले जनाएको छ ।
उक्त कार्यको लागि आवश्यक नमूना बोलपत्र समेत तयार भई सार्वजनिक खरिद अनुगमन कार्यालयमा छलफलको क्रममा रहेको छ। साथै लागत अनुमान तयार गर्न आवश्यक नर्म्स स्वीकृत भइसकेको छ र हाल लागत अनुमान तयारी कार्य भइरहेको छ।
