
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को नाफा र प्रतिसेयर आम्दानी दुवै घटेको छ ।
आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा र प्रतिसेयर आम्दानी घटेको हो ।
कम्पनीले चालु वर्ष चैत मसान्तसम्म ७२ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा थियो । गत वर्षको तुलनामा ३३.१५ प्रतिशतले खुद नाफा घटेको छ ।
समीक्षा अवधिमा कम्पनीको आम्दानी २८.५३ प्रतिशतले बढेको छ । वित्तिय आम्दानी ३३.१३ प्रतिशतले घटेको छ ।
कम्पनीको लाभांश ५०.२३ प्रतिशतले बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ ।
प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९६ पैसामा सीमित भएको छ । गत वर्षको चैतमा कम्पनीको ईपीएस ६.३८ रुपैयाँ रहेको थियो। बैंकको ब्याजदर घटेसँगै कम्पनीको वित्तीय आम्दानीमा गिरावट आएको हो ।