Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

उपल्लो दुखुमा पोल गाडेको ४ वर्षपछि बल्ल बिजुली बल्यो   


म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखुगाउँमा पोल गाडेको ४ वर्षपछि बल्ल राष्ट्रिय प्रसारण प्रणालीकाे  विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने  ३३/११ केभी प्रसारण लाइन विस्तार गरी याे गाउँमा विद्युत पहुँच पुर्याइएकाे हाे ।

प्राधिकरणले प्रसारण लाइन तथा रातोढुङ्गा सबस्टेशन र दुखुलगायत आसपासका ३ वटा वडामा विद्युतीकरण गर्न २०७४ सालमा काम सुरु गरेको थियो । २०७६ सालमा प्रसारण लाइनकाे पोल गाडिएको थियो ।

सोही योजनाअनुसार उपल्लो दुखुका ९९ घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले बताए । “पोल गाडेको चार वर्षपछि उपल्लो दुखुमा विद्युतीकरणको योजनाले पूूर्णता पाएको छ”, उनले भने, “उपल्लो दुखुका ४१ र खुवाङका आठ घरमा गत असोजमा बिजुली बलेको थियो । पोल गाड्ने र तार तान्ने काम सकिएपछि उपल्लो दुखुका थप ५० घरमा यसै सातादेखि बिजुली बल्न थालेको हो ।”

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोबाइल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयवासी ईश्वरी पुनले बताए । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४.५ किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दथे ।

नियमित र दिउँसो विद्युत् आपूर्ति नहुँदाका समय विकल्पमा सौर्य ऊर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपूर्ति हुन थालेपछि जनजीवन सहज भएको पुनले बताए । विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रले एसियाली विकास बैंकको परियोजनामार्फत संरचना तयार भएपछि विद्युत् वितरण गरिएको जनाएको छ ।

केन्द्रका इन्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा एक सय केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत् आपूर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताए । पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि उपल्लो दुखुका सबै घरमा बिजुली बालिएको छ ।

म्याग्दी वितरण केन्द्रकाे विद्युत सेवा लिने प्राधिकरणका २२ हजार  ग्राहक छन् । गत आर्थिक वर्ष (२०७९/८०) मा १ हजार २ सय ३८ उपभोक्ता थपिएका थिए । मालिका गाउँपालिका–२, ३ र ४ नं वडाका चार सय घरधुरीमा विद्युतीकरणका लागि गत शुक्रबारदेखि ट्रान्सफर्मर चार्ज र मुख्य तथा शाखा लाइनको परीक्षण गर्न थालिएको छ ।

म्याग्दीमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत् नपुगेका २ हजार २ सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले गत असोजमा २० करोड रुपैयाँभन्दा बढी बजेटको ठेक्का सम्झौता भएको थियो । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिकाको गुर्जाबाहेक सबै बस्तीमा केन्द्रीय लाइनको विद्युत् विस्तार गरिने नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए ।


Read Previous

सम्झौता तोडिएको ९ महिनापछि लोकमार्गको बिहुँ खण्ड कालाेपत्र गर्न पुनः ठेक्का आह्वान  

Read Next

ऊर्जा क्षेत्रमा छैन महिलाकाे समान सहभागिता, अग्रजहरू भन्छन्, ‘ग्याप भरिन समय लाग्छ’

Leave a Reply

Your email address will not be published.