Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

ठेक्का सम्झौताको २ वर्षमा पनि सुरु भएन राहुघाट सबस्टेसनकाे निर्माण


म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाट सबस्टेसनकाे  ठेक्का सम्झौता भएको २६ महिना बितिसक्दा पनि निर्माण सुरु हुन सकेकाे छैन । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्ने सबस्टेसनकाे काम अगािड बढ्न नसकेकाे हाे ।

सबस्टेसन निर्माणमा भएको ढिलाइका कारण राहुघाट र म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत प्रभावित हुने देखिएका छन् । विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

३० महिना ठेक्का अवधि भएको आयोजनाको २६ महिना सकिँदा राहुघाटमा सबस्टेसन निर्माण सुरु नहुँदा म्याग्दीको जलविद्युत् क्षेत्रमा नकारात्मक असर परेको संविधानसभा सदस्य नवराज शर्माले बताए । “डाँडाखेतको सवस्टेसन र प्रसारण लाइन निर्माणको काम पनि सन्तोषजनक छैन”, शर्माले केही दिनअघि बेनीमा भएको नवौँ जिल्लासभामा भनेका थिए, “ठेक्का अवधि सकिन चार महिनामात्र बाँकी हुँदासमेत राहुघाटमा सवस्टेसन निर्माण सुरु नगर्दा म्याग्दीको जलविद्युत् क्षेत्रमा दीर्घकालीन असर पर्ने देखिएको छ ।”

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सवस्टेसन र प्रसारण लाइन बनाउन लागिएको हो । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको पावर ट्रान्सपर्मर जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेसनमा भौतिक पूर्वाधार निर्माणका लागि प्रारम्भिक चरणको काम पनि भएको छैन् । अम्बाङमा सवस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।

डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले राहुघाटमा सबस्टेसन निर्माणको काम सुरु गर्न ताकेता गरिरहेको र पछिल्लो पटक सहायक ठेकेदार छनोट गरेर काम सुरु गर्ने जानकारी गराएको बताए ।

“ठेकेदारको कामप्रति हामी पनि सन्तुष्ट छैनौँ । ठेक्का अवधि सकिनै लाग्दा करिब ३५ देखि ४० प्रतिशत मात्र भौतिक प्रगति भएको छ”, उनले भने, “डाँडाखेत सवस्टेसन र जग्गा अधिग्रहण भएका ठाउँमा प्रसारण लाइनको टावर बनाउन तथा राहुघाटमा काम सुरु गर्न मौखिक र पत्रमार्फत ताकेता गरेका छौँ ।”

१३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको पावर ट्रान्सफर्मर जडान गरिने डाँडाखेत सवस्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ । डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो । दुवै ठाउँका सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसके पनि प्रयोगमा ढिलाइ हुँदा बिग्रने जोखिम बढेको प्राविधिकले बताएका छन् ।

२५ किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७९ वटा टावरमध्ये हालसम्म १२ वटा निर्माण सकिएको र ३८ वटा निर्माणाधीन रहेका आयोजनाले जनाएको छ । रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् ।

दुवै ठाउँमा यसअघिनै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् । ५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् ।


Read Previous

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु

Read Next

बेनी-जोमसोम-कोरला सडकको काभ्रेभिरमा ‘रक एङ्करिङ’   

Leave a Reply

Your email address will not be published.