Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

६ महिनामै उक्कियो लोकमार्गको घोडाबाँधे-गलकोट खण्डकाे कालोपत्र   


ढोरपाटन (बागलुङ) । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–गलकोट खण्डको कालोपत्र ६ महिना नबित्दै उक्किएकाे छ । कालोपत्र उक्किएपछि सडकमा खाल्डाखुल्डी भएको छ ।

एक दशकअगाडि कालोपत्र भएको घोडाबाँधे–गलकोट खण्ड जीर्ण बनेपछि मर्मत गरिएको थियो । निर्माण कम्पनीले गत असोजमा कालोपत्र गरेको सडक एक महिनापछि उक्किन थालेको थियो । अहिले लोकमार्गको बीच भागमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्र उक्किएपछि सडक हिलाम्य र धुलाम्मे बन्ने गरेको छ ।

गुणस्तरहीन कामका कारण कालोपत्र उक्किएको स्थानीयले आरोप लगाएका छन् । २०७९ असार २२ मा लोकमार्ग कार्यालयसँग सम्झौता गरी जोशी निर्माण कम्पनी काठमाडौँले मर्मतको काम गरेको थियो । निर्माण कम्पनीले कालोपत्र गरेको लोकमार्गको घोडाबाँधे भ्यूटावर, काफलठुटा, झाँक्रीस्थान नरठाँटीलगायत दर्जनौँ ठाउँमा उप्किएको छ । कालोपत्र उक्किएर खाल्डाखुल्डी बनेपछि सडकमा यात्रा जोखिमपूर्ण भएको सवारी चालक बलबहादुर सुनारले बताए ।

“ठेकेदारले सुरुमा राम्रो काम गरिरहेको थियो तर कालोपत्र गर्ने बेलामा कमसल सामान प्रयोग गरेछ । अहिले गाडी कुदाउने खालको सडक छैन । जताततै खाल्डाखुल्डी र हिलोधुलो छ”, चालक सुनारले भने, “गुणस्तरहीन काम भएकाले सरकारले यस्तालाइ कारबाही गर्नुपर्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले लोकमार्गअन्तर्गत गलकोट खण्डको धेरै ठाउँमा समस्या भएको बताए । नरेठाँटीदेखि भ्यू टावरसम्मको सडक कतै कालोपत्र उक्किएको, कतै नाली पुरिएको त कतै सडकको ‘लेभल’नै नमिलेको उनकाे भनाइ छ ।

लोकमार्ग मर्मतका लागि निर्माण कम्पनीले १३ करोड ९९ लाख रुपैयाँमा आगामी असोज २१ गतेसम्म सडक मर्मत सक्ने गरी ठेक्का लिएको थियो । मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका सूचना अधिकारी इञ्जिनियर पवन सुवेदीले निर्माण कम्पनीले समयमै काम सके पनि गुणस्तरीय नभएको स्वीकार गरे । इञ्जिनियर सुवेदीले कालोपत्र भएको एक महिना नबित्दै उक्किएको सडकलाई पुनः मर्मत गर्न लगाएको र बिग्रिएको ठाउँमा थप मर्मत गर्न आग्रह गरेको बताए ।

“निर्माण कम्पनीले जिम्मा लिएको जति स्थानमा सडक भत्किएको छ, कालोपत्र उप्किएको छ, त्यो सबै उसैले बनाउनुपर्छ, यसको जिम्मेवार निर्माण गर्ने कम्पनी नै हो । उनीहरुलाइ काम गर्नुपर्यो भनेर हामीले भनिरहेका छौँ,” सुवेदीले भने, “काम गरिरहेकै बेला पनि कालोपत्र उक्किको गुनासो आएपछि मर्मत गर्न लगाएका थियौँ । अहिले फेरि धेरै ठाउँमा उप्किएछ । त्यो निर्माण कम्पनीले जिम्मेवार भएर मर्मत गर्नुपर्छ ।”

मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लाभित्र करिब एक सय ४२ किलोमिटर पर्छ । त्यसमध्ये बिउँ खण्डको १२ किलोमिटरबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ ।


Read Previous

पूर्वी नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो   

Read Next

कालीगण्डकी करिडोरकाे तिप्ल्याङ–पोखरेबगर सडक खण्डमा कालोपत्र   

Leave a Reply

Your email address will not be published.