Nepal Purbadhar

सरकारले घटायो बजेटको लक्ष्य,१५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख संशाेधित बजेट


काठमाडौं । सरकारले चालू आर्थिक वर्ष (२०८०/८१) को बजेटको महत्त्वकांक्षी लक्ष्य घटाएको छ । अर्थमन्त्रालयले आर्थिक वर्षको ६ महिना सकिएपछि कूल बजेटको लक्ष्य २ खर्ब २१ अर्ब रुपैयाँ घटाएर संशोधन गरेको हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा चालू आवको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको लक्ष्य घटाइएको बताए । उनले चालू आवका लागि गत जेठ १५ गते १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याइएकोमा यो लक्ष्यलाई संशोधन गरी १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख रुपैयाँमा झारिएको बताए ।

उनका अनुसार बजेटको संशोधित लक्ष्य कूल बजेटको ८७.३८ प्रतिशत हो । उनले पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएकोमा आव सकिँदा ८४.१३ प्रतिशत खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए । चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा आर्थिक वर्ष सकिँदा ८८.२४ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको बताए ।

यस्तै, वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ चालू आवका लागि बजेट विनियोजन भएकोमा अब संशोधित अनुमान अनुसार ८७.३९ प्रतिशत खर्च हुने देखिएको पनि उनले बताए ।

यसैगरी, राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको वित्तीय स्रोत व्यवस्थापन गर्ने लक्ष्य बजेटमा लिइएकोमा यसलाई पनि संशोधन गरी अब राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख रुपैयाँ उठ्ने संशोधित अनुमान गरिएको बताए । जसमा राजश्व संकलनको लक्ष्लाई १० खर्ब ६९ अर्ब रुपैयाँमा घटाइएको छ ।

यसैगरी, अनुदानबाट ४९ अर्ब ९४ करोड रुपैयाँ बराबरको बजेट व्यवस्थापन हुने अनुमान गरिएकोमा यसलाई संशोधन गरी ४० अर्ब १२ करोड ९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको महतले बताए । जसमा वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँको लक्ष्यलाई घटाएर १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँमा झारिएको पनि उनले जानकारी दिए ।

 


Read Previous

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा कालोपत्र गर्न सुरु

Read Next

ग्लोबल आइएमई बैंकको विशेष आवास योजना, १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा