काठमाडौं । एसिएन बैंकर संघकाे सम्मेलन काठमाडौंमा सुरु भएको छ । नेपाल बैंकर संघ र एसिएन बैंकर संघकाे संयुक्त आयोजनामा सम्मेलन सुरु भएकाे हाे ।
‘एसियन बैंकिङः रोडम्याप फर रिकभरी एण्ड सस्टेइन्ड ग्रोथ’ नाराका साथ सुरु भएको याे सम्मेलन २ दिनसम्म चल्ने छ । सम्मेलनमा नेपाल सहितका सदस्य देशका बैंकरहरुको सहभागिता छ ।
सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । विश्व बैंक, एसियाली विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेकोे भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख बताए ।
उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिए । उनले बैंकमा लगानी बढाउन पनि आग्रह गरे ।