Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

विद्युत प्राधिकरणले तमोर-मेवाको प्रवर्द्धकसँग पिपिए गर्यो, मंसिरदेखि निर्माणमा जाँदै


काठमाडौं । ताप्लेजुङमा निर्माण हुने १२८ मेगावाटको तमोर–मेवा जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजनाको प्रवद्र्धक स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीबीच पिपिए भएको हो ।

प्राधिकरणले सोमबार साँझ नदीको बहावमा आधारित यो आयोजनाको पिपिए गरेको कम्पनीका अध्यक्ष भानेन्द्रकुमार लिम्बुले बताए । पिपिएमा प्राधिकरणकोतर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीकोतर्फबाट लिम्बुले हस्ताक्षर गरे ।

आयोजनाको विद्युत सुख्खा याममा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा प्रतियुनिट ४.८० रुपैयाँमा खरिद–बिक्री गर्ने गरी पिपिए भएको अध्यक्ष लिम्बुले जानकारी दिए । उनका अनुसार आयोजनाको प्रवद्र्धक कम्पनीले ८ पटकसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाउनेछ ।

पिपिए अनुसार प्रवर्द्धक कम्पनीले २०८५ सालको असोज २५ गतेभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु पर्नेछ । विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाई गरी प्राधिकरणले प्रस्ताव गरेको दर स्वीकृत भएपछि पिपिएमा हस्ताक्षर भएको हो ।

‘हामीले सबै तयारी पूरा गरी पिपिए पनि सम्पन्न गरेका छौं,’ उनले भने, ‘तिहारपछि मंसिरबाट नै आयोजना स्थलमा काम सुरु हुन्छ ।’ उनले बैंक तथा वित्तीय संस्थासँग ऋण लगानी सम्झौता हुन अझै ६ महिना लाग्ने हुँदा स्वपुँजीबाट मंसिरदेखि नै निर्माण सुरु गर्न लागेको बताए ।

अहिले आयोजना स्थलमा निर्माणको पूर्व तयारीका कामहरू भइरहेका छन् । आयोजना निर्माण गर्न २४ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आवश्यक कूल लगानीको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण हुनेछ । २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

निको इन्स्योरेन्स, सुपर माई जलविद्युत आयोजनामा लगानी गर्ने समूह तथा हिम रिभर कम्पनीले यो आयोजनामा स्वपुँजी लगानी गरेका छन् । ऋण लगानीका लागि कुमारी बैंकले अगुवाई गर्ने आशयपत्र कम्पनीले पाइसकेको छ ।

कुमारी बैंकले २०७७ सालमै आयोजनामा ऋण लगानीको अगुवाई गर्ने आशयपत्र दिइसकेको लिम्बुले बताए । ऋण लगानी गर्ने अन्य बैंकहरूसँग भइरहेको छलफल पनि सकारात्मक मोडमा पुगेको उनको भनाइ छ ।

विद्युत विकास विभागले २०७७ असोज २५ गते नै कम्पनीको नाममा आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन(इआइए) पनि २०७७ असारमै स्वीकृत भइसकेको छ ।

सबै कानूनी प्रक्रिया पूरा भइसकेकाले अब विना अवरोध काम गरी निर्धारित तालिकाभित्र विद्युत उत्पादन गर्ने लिम्बुले दाबी गरे ।
ताप्लेजुङको तमोर र मेवा नदीको पानी उपयोग हुने गरी निर्माण हुने यो आयोजना सम्पन्न हुँदा वार्षिक ७११.४३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गत अहिले निर्माण भइरहेको २२० केभी ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण गरी विद्युत पुर्याइने कम्पनीले जनाएको छ । यो आयोजनाको अध्ययन सन् २०१३ बाटै सुरु गरिएको भएपनि प्रसारण प्रणालीको संरचना निर्माण भइनसकेको हुँदा तथा समयमा लगानी जुट्न भर्खरै मात्र निर्माणमा जाने चरणमा पुगेको हो ।


Read Previous

साढे २७ अर्बको डेडिकेटेड फिडर महसुल बक्यौता जटिल बन्दै, कानून भन्छ–तिर्नैपर्छ, व्यवसायी भन्छन्– कसरी र किन तिर्नु ?

Read Next

अरुण तेस्रो जलविद्युत परियोजना जोड्ने सडकको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय

Leave a Reply

Your email address will not be published.