Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

ट्रयाक खुलेको आठ वर्षपछि सडक स्तरोन्नति सुरु


बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिङगाको ठूलोखोलादेखि डाँडाखेत हुँदै ढोलथान जोड्ने कृषि सडक ट्रयाक निर्माण भएको आठ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । बेनी–दरवाङ सडकखण्ड अन्तर्गत सिङगाको ठूलोखोलादेखि वडा नं ४ र ५ का ग्रामीण बस्ती जोड्ने सिङगा–सिस्नेरी–डाँडाखेत–पुलाचौर–गाजने हुँदै ढोलठान पुग्ने सडकको स्तरोन्नति सुरु गरिएको हो ।

गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक कृषि सडक आयोजना अन्तर्गत सडक स्तरोन्नति सुरु गरिएको वडा नं. ४ का वडाध्यक्ष अणबहादुर खड्काले बताए । प्रदेश निर्वाचन क्षेत्र–१ का प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीको सिफारिसमा कृषि सडक स्तरोन्नतिमा छनोट भएको यस आयोजनाका लागि रु एक करोड बजेट विनियोजन भएको थियो । गत असार २१ मा पूर्वाधार विकास कार्यालय, म्याग्दीसँग ठेक्का सम्झौता गरेको मुक्तिनाथ हाईबे/कालीगण्डकी निर्माण जेभीले सडक मर्मत अघि बढाएको छ ।

वि. सं. २०७२ मा सडकको ट्र्याकनिर्माणले पूर्णता भएको भए पनि यस वर्षदेखि आयोजनाकै रुपमा सडक स्तरोन्नति थालिएको खड्काले भने । आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी जनशक्ति, मेसिन, उपकरण र निर्माण सामग्रीको परिचालन गरिएको कम्पनीको भनाइ छ । अहिले सिस्नेरी– बाँजगरा क्षेत्रको उकालो र कठिन घुम्तीमा सडक ढलानको काम भइरहेको छ । ठूलो खोला र अँधेरीखोला क्षेत्रमासमेत सडक ढलान गरिनेछ । निर्माण कम्पनीले सडक ढलानको काम गरिरहेको पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनयर विष्णु पौडेलले जानकारी दिए ।

उनका अनुसार चालु आवमा सडकखण्डको विभिन्न स्थानमा करिब एक सय ६० मिटर सडक ढलान गरिने छ । त्यसैगरी सात सय ४१ घनमिटर ग्याबिन जाली लगाउने र ३९ घनमिटर पक्की पर्खाल निर्माण गरिने छ । यस सडकखण्डका केही स्थानमा गत वर्ष बेनी नगरपालिकाले समेत गौरवको योजनाका रुपमा बजेट विनियोजन गरेर सडक ढलान गरेको थियो । नगरपालिकाले रु ३८ लाख बजेटबाट राजकुलो –कुटीडाँडा–धुविबोट हुँदै पख्रेलटोल जाने बाटोमा करिब ८५ मिटर सडक ढलान गरिएको थियो ।


Read Previous

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

Read Next

रिडी‐रुद्रवेणी सडक अवरुद्ध

Leave a Reply

Your email address will not be published.