Nepal Purbadhar

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

आइतवार, बैशाख ३०, २०८१
Sunday, May 12, 2024

बागलुङमा एघार वर्षपछि चार पाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो


म्याग्दी ।  बागलुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन खुलेको छ । म्याग्दीलगायत धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर ११ वर्षपछि चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन सङ्कलन गर्न लागिएको हो । योसँगै बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रे सवारी साधनको लाइसेन्सका लागि पोखरालगायत स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने देखिएको छ ।

आइतबारदेखि बि, सि, इ, एफ र जि वर्ग (चार पाङ्ग्रे)का सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले जानकारी दिए । बागलुङमा हाल ए, र के वर्ग अर्थात् दुई पाङ्ग्रे सवारी साधनको मात्र परीक्षा सञ्चालन भइरहेको छ । नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा वि. सं. २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन ।

ट्रायल परीक्षाका लागि मापदण्ड पुगेको पूर्वाधार र सवारी साधन भाडामा लिन गत असारमा बोलपत्र आह्वान गरिएको थियो । “प्रतिस्पर्धामार्फत छनोट भएको धौलागिरि ड्राइभिङ सेन्टर प्रा.लि. बागलुङसँग भदौ पहिलो साता सम्झौता भएको थियो । यसै हप्ताभित्र ट्रायल सुुरु गर्ने तयारीमा छौँ ।” थापाले भने ।

कार्यालयको आफ्नै जग्गा नभएका कारण प्रयोगात्मक ‘ट्रायल’ परीक्षाका लागि ड्राइभिङ इन्टिच्यूटले बनाएको संरचना भाडामा लिएको हो । दुईपाङ्ग्रेको ‘ट्रायल’ परीक्षा पनि बागलुङ नगरपालिका–१ रामरेखामा भाडाकै जग्गामा सञ्चालन हुँदै आएको छ ।

कार्यालयको आफ्नै जग्गा र पूर्वाधार नभएपछि निजी क्षेत्रसँग मिलेर लाइसेन्स परीक्षालाई व्यवस्थित गरिएको हो । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बागलुङबाट चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको परीक्षा सञ्चालन हुँदा सिङ्गै धौलागिरि क्षेत्र लाभान्वित हुने बताए ।


Read Previous

विद्युत व्यापारका लागि सहजिकरण गरिदिन पूर्व राजदूत रेसँग इप्पान पदाधिकारीकाे आग्रह

Read Next

अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल र प्रवेश मार्ग ठप्प

Leave a Reply

Your email address will not be published.