Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

म्याग्दीका ६ हजार घरधुरीमा खानेपानीको पहुँच


म्याग्दी । म्याग्दीका ६ हजार २२५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।

जिल्लामा कार्यालय स्थापना भएको छ वर्षको अवधिमा सञ्चालित खानेपानी आयोजनाबाट ३१ हजार व्यक्ति लाभान्वित बनेका खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०७९/८० मा मात्रै ३२ योजना सञ्चालन गरेकामा पाँच वटा निर्माण सम्पन्न भएका छन् ।

रानीपौवा, धारापानी, ढोलठान, डम्मरा र भगवतीमा सम्पन्न भएका खानेपानी आयोजनाबाट एक हजार ८८ घरधुरीका छ हजार जना लाभान्वित बनेको कार्यालयका इन्जिनियर राजेश उलकले जानकारी दिए । उनका अनुसार, एक वर्षमा एक सय १४ दशमलव ६० किलोमिटर पाइपलाइन जडान गरिएको छ । सोह्र पानी ट्याङ्की निर्माण भएका छन् भने एक हजार ५२ घरधुरीमा खानेपानीको धारा निर्माण भएको छ । विपिटी, सिसी, डिसी र क्रसिङलगायतका ५४ वटा पूर्वाधार बनेका छन् ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको एक घर एक धारा खानेपानी अभियानले म्याग्दीमा तिब्रता पाएको छ । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयअन्तर्गत म्याग्दीमा स्थापना भएको यस कार्यालयले जिल्लामा खानेपानीको पहुँच विस्तारको लागि विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ । गत वर्ष प्रदेश सरकारमार्फत २४ खानेपानी आयोजना सञ्चालन गरेको यस कार्यालयले सङ्घतर्फ जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत आठ खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

तथ्याङ्कअनुसार, हालसम्म ८८ दशमलव पाँच प्रतिशत घरधुरीमा आधारभूत खानेपानीको पहुँच पुगेको म्याग्दीमा अझै पनि १२ प्रतिशत जनसङ्ख्या खानेपानीको जोहो गर्न ३० मिनेटको समय खर्चनुपर्ने बाध्यतामा छन् ।  ‘आम नागरिकलाई शुद्ध खानेपानीको पहुँच पु¥याउन एक घर एक धारा खानेपानीको अभियान सञ्चालन भएको छ, खानेपानीको मुहानको भरपर्दो स्रोत नहुने र क्रमागत योजनामा बजेट थोरै विनियोजन हुने समस्याले योजनालाई समयमा नै पूर्णता दिलाउन समस्या’ कार्यालय प्रमुख पौडेलले भने ।

गत आवमा सम्पन्न भएको रघुगङ्गा गाउँपालिका–३ को रानीपौवा खानेपानी आयोजनाबाट एक सय २४ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । आव २०७३/७४ बाट सुरु भएको यस आयोजनालाई क्रमागत योजनाको रुपमा अघि बढाएको कार्यालयले कुल तीन ट्याङ्की, सात सय मिटर मुख्य र १७ दशमलव नौ किलोटिमर वितरण पाइपलाइन निर्माण गरेर पूर्णताः दिएको हो । खानेपानी आयोजना निर्माण भएपछि खानेपानीको लागि एउटै धारोमा पालो लगाउनुपर्ने बाध्यता र झण्झट हटेको स्थानीय उमा कार्कीले बताए ।

रघुगङ्गा गाउँपालिका–२ भगवतीमा आव २०७५/७६ देखि सुरु भएको चिमखोला मुहान, दग्नाम पिप्ले भगवती खानेपानी आयोजनाको समेत निर्माण सम्पन्न गरिएको छ । चार वटा ट्याङ्की निर्माण भएको यस आयोजनाबाट चार सय ३२ घरधुरीमा खानेपानीको धारा जडान गरिएको छ । धौलागिरि गाउँपालिका–७ धारापानीमा पनि क्रमागत योजनाको रुपमा सञ्चालित खानेपानी आयोजना सम्पन्न भएर तीन सय ५३ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । आठ हजार पाँच सय मिटर मुख्य र २० किलोमिटर शाखा पाइपलाइन निर्माण भएको यस आयोजनामा दुई वटा ट्याङ्की र दुई वटा विपिटी निर्माण भएको छ ।

खानेपानीको चरम अभाव रहेको बेनी नगरपालिका–५ ढोलठानमा ढोलनाथ पुलाडाँडा खानेपानी आयोजना सम्पन्न भएर ८६ घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनामा दुई वटा ट्याङ्की, एक हजार चार सय मिटर मुख्य र पाँच हजार पाँच सय ६० मिटर वितरण पाइपलाइन निर्माण गरिएको छ । एकाननब्बे घरधुरीमा खानेपानी वितरण हुँदै आएको बेनी नगरपालिका–६ को डम्मरा खानेपानी आयोजनाको ट्याङ्की मर्मत गरिएको छ । रासस


Read Previous

अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालन

Read Next

निर्माण व्यवसायीको आन्दोलनमा स्कायफ नेपालको ऐक्यबद्धता

Leave a Reply

Your email address will not be published.