Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

नेपालीलाई प्रतिव्यक्ति ऋण ७६ हजार १७७ रूपैयाँ, देशकाे ऋण २२ खर्ब २१ अर्ब नाघ्यो


काठमाडाैं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख रूपैयाँ बराबर आन्तरिक र  १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रूपैयाँ बराबर बाह्य ऋण तिर्न बाँकी रहेको देखिएको हो ।

गत आर्थिक वर्षमा मात्र नेपालको सार्वजनिक ऋण २ खर्ब आठ अर्ब ३८ करोड २१ लाख थपिएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा यस्तो ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । गत आर्थिक वर्षमा मात्र १ खर्ब ४० अर्ब ८७ करोड ९९ लाख रूपैयाँ बराबर आन्तरिक र ६७ अर्ब ५० करोड २२ लाख रूपैयाँ बराबर बाह्य ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

साँवा-ब्याजको दायित्व पुँजीगत खर्चकै हाराहारी

गत आर्थिक वर्ष २०७९/८० मा नेपालको पुँजीगत खर्च २ खर्ब ३३ अर्ब ६९ करोड बराबर हो । सार्वजनिक ऋणको साँवा ब्याज भुक्तानीमा गतवर्ष सरकारले गरेको खर्च पनि विकास खर्चकै हाराहारी छ । गत वर्षमा ऋणको साँवा ब्याज भुक्तानीमा सरकारले २ खर्ब २२ अर्ब ७४ करोड २१ लाख  रूपैयाँ खर्च गरेको छ । जसमध्ये, आन्तरिक ऋणको साँवा–ब्याज भुक्तानी १ खर्ब ७९ अर्ब ७२ करोड ५३ लाख र बाह्य ऋणको साँवा ब्याज भुक्तानीमा  ४३ अर्ब एक करोड ६८ लाख रूपैयाँ बराबर खर्च भएको छ ।

सरकारले गत वर्ष आन्तरिक ऋणको साँवा मात्रै १ खर्ब १५ अर्ब ११ करोड ७८ लाख रूपैयाँ बराबर तिरेको छ । त्यस्तै, आन्तरिक ऋणको ब्याजमा ६४ अर्ब ४९ करोड ४२ लाख रूपैयाँ र नेपाल राष्ट्र बैंकलाई तिर्ने कमिसनमा ११ करोड ३३ लाख रूपैयँ खर्च भएको छ । बाह्य ऋणमा भने ३४ अर्ब ६१ करोड ७९ लाख बराबर साँवा र  ८ अर्ब ३९ करोड ८९ लाख  रूपैयाँ बराबर ब्याज भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले ३ खर्ब ३८ अर्ब ११ करोड ७८ लाख बराबर आन्तरिक र बाह्य ऋण उठाएको छ । आन्तरिकतर्फ २ खर्ब ५५ अर्ब ९९ करोड ७७ लाख र बाह्यतर्फ १ खर्ब दुई अर्ब १२ करोड रूपैयाँ बराबर ऋण उठाइएको छ ।

जिडिपी–ऋण अनुपात ४५ दशमलव ८० प्रतिशत

अहिले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आकार ४८ खर्ब ५१ अर्ब ६२ करोड रूपैयाँ छ । जिडिपीको यो आकारलाई आधार मान्दा जिडिपीमा सार्वजनिक ऋणको अनुपात ४५ दशमलव ८० प्रतिशत पुगेको छ । जिडिपीमा सार्वजनिक ऋणको अनुपात बढ्दै जानु र न्यून पुँजी निर्माणका कारण आर्थिक वृद्धिदरसमेत कमजोर भइरहँदा त्यसले आगामी दिनमा मुलुकको अर्थतन्त्रलाई जोखिममा पार्नेसक्ने भन्दै सार्वजनिक ऋण बढेकामा आलोचना हुने गरेको छ ।

एक दशकमा चार गुणाले बढ्यो सरकारी ऋण

आर्थिक वर्ष २०७०/७१ मा नेपालको सार्वजनिक ऋण ५ खर्ब ५३ अर्ब ५० करोड ७० लाख बराबर थियो भने उक्त वर्ष जिडिपीमा सार्वजनिक ऋणको अनुपात २८ दशमलव ५१ प्रतिशत बराबर थियो । पछिल्लो करिब एक दशकमा नेपालको सार्वजनिक ऋण चार गुणाले बढेको छ भने जिडिपीमा ऋणको अनुपात दोब्बरले बढेको छ । पछिल्लो ५ वर्षमा मात्र नेपालको सार्वजनिक ऋण दोब्बरभन्दा बढीले बढेको छ । आर्थिक वर्ष २०७३/७४ मा नेपालको सार्वजनिक ऋण ६ खर्ब ९७ अर्ब ६८ करोड बराबर थियो ।

भूकम्पपछिको पुनःसंरचनाका लागि नेपालले ऋण मात्रामा ऋण उठाएपछि आर्थिक वर्ष २०७४/७५ सम्ममा ९ खर्ब १७ अर्ब ३१ करोड पुग्यो । त्यसपछि आर्थिक वर्ष २०७५/७६ मा  १० खर्ब ४८ अर्ब १५ करोड, आर्थिक वर्ष २०७६/७७ मा १४ खर्ब ३३ अर्ब ४० करोड, आर्थिक वर्ष २०७७/७८ मा  १७ खर्ब ३७ अर्ब ६३ करोड र आर्थिक वर्ष २०७८/७९ सम्ममा २० खर्ब १३ अर्ब २९ करोड  रूपैयाँ बराबर पुगेको थियो ।

प्रतिव्यक्ति ऋण रू ७६ हजार एक सय ७७

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कूल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार पाँच सय ७८ बराबर छ । कूल सार्वजनिक ऋणलाई कूल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ७६ हजार एक सय ७७ बराबर पर्न जान्छ ।

यसवर्ष थप ४ खर्ब ५२ करोड ऋण उठाउने लक्ष्य

सरकारी राजस्व सङ्कलनको तुलनामा ठूलो आकारको बजेट ल्याउँदा सरकारले आन्तरिक र बाह्य ऋणलाई बजेट स्रोतका रुपमा देखाउँछ । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को घाटा बजेट पूर्ति गर्नका लागि ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेको छ । जसमध्ये २ खर्ब ४० अर्ब आन्तरिक र २ खर्ब १२ अर्ब ७५ करोड रूपैयाँ बाह्य ऋण उठाउने सरकारको लक्ष्य छ । रासस


Read Previous

४० मेगावाट क्षमताकाे अपर चमेलिया उद्घाटन

Read Next

महासंघद्वारा प्रधानमन्त्री कार्यालयसहित विकासे मन्त्रालयमा ९ बुँदे अल्टिमेटमको ज्ञापनपत्र पेश

Leave a Reply

Your email address will not be published.