Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

बर्खायाममा मुख्य सडक सञ्चालन गर्न सडक हेरालु


गाेरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बर्खायाममा पालिकाभित्रका मुख्य–मुख्य सडक नियमित सञ्चालन गर्नका लागि सडक हेरालु नियुक्त गरेको छ । जिल्लाका एघार पालिकामध्ये बारपाक सुलिकोटले पहिलो पटक पालिकाभित्रका सडकको हेरचाहका लागि सडक हेरालु राखेको हो ।

बर्खा लागेसँगै सडकमा बग्ने भल तथा स–साना पहिरो समयमा व्यवस्थापन गर्न नसक्दा आवागमनमा समस्या उत्पन्न हुने र सडकमा बढी क्षति पुग्ने भएकाले सोको सही व्यवस्थापनका लागि सडक हेरालु नियुक्त गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले बताए । सडकमा आउने भल तथा पहिरो व्यवस्थापन गरी सडक मर्मत सम्भार गर्न पालिकाले १७ जना सडक हेरालु नियुक्त गरेको उनले जानकारी दिए ।

‘सानातिना भल, पानी र बाढीपहिरोले भत्काएका सडक समयमा मर्मत गर्न नसक्दा धेरै क्षति हुने गरेको छ’, अध्यक्ष भट्टले भने, ‘यसले विकासमा थप भार पार्नुका साथै लामो समयसम्म सडक अवरुद्ध हुँदा आवागमनमा समस्या हुने भएकाले यस वर्षदेखि पालिकाभित्रका मुख्य सडक बिग्रने वित्तिकै मर्मत गर्ने गरी सडक हेरालु राखेका हौँ ।’

मुख्य सडक मर्मतसम्भार तथा हेरचाह गर्न गाउँपालिकाले आगामी पाँच महिनासम्मका लागि सडक हेरालु नियुक्त गरेको अध्यक्ष भट्टले बताए । नियुक्त गरिएका सबैलाई गाउँपालिकाले अभिमुखीकरण तालिम प्रदान गरी नियुक्तपत्र दिएर काममा खटाइएको उनको भनाइ थियो ।

‘सडक हेरालुलाई सडक मर्मत सम्भारमा प्रयोग हुने गाडा, बेल्चा, गैँची, कोदाली, घन, जावेल, कराइ टेपलगायत आवश्यक सामग्री उपलब्ध गराएका छौँ’, अध्यक्ष भट्टले भने, ‘यस बाहेक सडक हेरालुको सुरक्षाका लागि आवश्यक पर्ने सेफ्टी हेल्मेट, ज्याकेट, सेफ्टी बुट र पञ्जालगायत सामग्री पनि हस्तान्तरण गरेका छौँ ।’

पालिकाले नियुक्त गरेका सबै सडक हेरालुले पालिकाअन्तर्गत रहेका नाला सफा गर्ने, खाल्डाखुल्डी पुर्ने, सडकमा पानी बग्न नदिने, झाडी–झारपात हटाउने, सडक अतिक्रमणबाट जोगाउनेलगायतका कार्य गर्ने उनले बताए । पालिकाभित्रका सबै मुख्य सडकसमेत कच्ची भएकाले हरेक वर्ष बर्खा लागेसँगै भल तथा बाढीले सडकमा क्षति पुग्ने र बर्खाभरी नै अवरुद्ध हुने हुँदा आउजाउमा नागरिकले हैरानी खेप्दै आउनु परेको थियो । रासस


Read Previous

प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन

Read Next

विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ : सांसद लिङ्देन