तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल २८ करोड ५९ लाख रूपैयाँको सम्झौता गरिएको छ ।
आयोजनाका लागि चालु आर्थिक वर्षमा रु छ करोड २० लाख बजेट विनियोजन गरिएको छ । सङ्घको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार दुई ठूला आयोजनामा सङ्घ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम रहेको छ । सङ्घ सरकारबाट मादी नदी नियन्त्रणमा १७ करोड ९८ लाख रूपैयाँ र गण्डकी प्रदेशबाट २ करोड ६६ लाख रूपैयाँमा सम्झौता भएको छ ।
चालू आवमा क्रमशः ४ करोड ५० लाख र २० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई क्रमशः २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने योजना छ ।
त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा ३ करोड ८१ लाख, पहाड खोला बस्ती संरक्षण कार्यका लागि १ करोड ८५ लाख, छाब्दीफाँट सिँचाइ योजनामा ७३ लाख, सेराफाँट सिँचाइ योजनामा ६३ लाख, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा ५२ लाख र तालेफाँट सिँचाइ योजनामा ४० लाख रूपैयाँमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।
त्यसैगरी अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालु आवमा १० लाखका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए । उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ गतेसम्म सम्पन्न गर्ने योजना छ । रासस