Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

तनहुँमा २८ करोड ५९ लाख रूपैयाँका १२ सिँचाइ योजना निर्माण गरिँदै


तनहुँ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय तनहुँमार्फत जिल्लाका १२ योजनाका लागि स्रोत सुनिश्चितता गरी निर्माणकार्य अघि बढाइएको छ । ती योजना निर्माण गर्नका लागि कुल  २८ करोड ५९ लाख रूपैयाँको सम्झौता गरिएको छ ।

आयोजनाका लागि चालु आर्थिक वर्षमा रु छ करोड २० लाख बजेट विनियोजन गरिएको छ । सङ्घको विशेष अनुदान र गण्डकी प्रदेश सरकारले योजना सम्पन्न गर्न बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार दुई ठूला आयोजनामा सङ्घ विशेष अनुदानमा मादी नदी नियन्त्रण र गण्डकी प्रदेशको बजेटमा मादी नदी नियन्त्रण कार्यक्रम रहेको छ । सङ्घ सरकारबाट मादी नदी नियन्त्रणमा  १७ करोड ९८ लाख रूपैयाँ र गण्डकी प्रदेशबाट २ करोड ६६ लाख रूपैयाँमा सम्झौता भएको छ ।

चालू आवमा क्रमशः ४ करोड ५० लाख र २० लाख रूपैयाँ बजेट विनियोजन भएको छ । ती आयोजनाको क्रमशः २०७९ फागुन ९ र २०७९ जेठ ६ गते सम्झौता भई क्रमशः २०८१ भदौ ८ र २०८० जेठभित्र सम्पन्न गर्ने योजना छ ।

त्यसैगरी डुम्रेबेँसी सिँचाइ योजनामा ३ करोड ८१ लाख, पहाड खोला बस्ती संरक्षण कार्यका लागि १ करोड ८५ लाख, छाब्दीफाँट सिँचाइ योजनामा  ७३ लाख, सेराफाँट सिँचाइ योजनामा ६३ लाख, कोल्पाटा लिफ्ट सिँचाइ योजानमा ५२ लाख र तालेफाँट सिँचाइ योजनामा  ४० लाख रूपैयाँमा ठेक्का सम्झौता भई काम सुरु गरिएको छ ।

त्यसैगरी अर्चले गाउँ र बिलौनी गाउँ पहिरो नियन्त्रण, मादीखोला ठूलो कुलो सिँचाइ र साँघेखोला डुम्रे सुपरी तटबन्धन कार्यका लागि चालु आवमा १० लाखका दरले बजेट विनियोजन गरी निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी जगन्नाथ चापागाईँले जानकारी दिए । उक्त योजना २०७७ साउन २८ गते ठेक्का सम्झौता भई २०८१ भदौ ८ गतेसम्म सम्पन्न गर्ने योजना छ । रासस


Read Previous

लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शुरू, लगानीमैत्री नीतिगत र संस्थागत सुधार थालिएकाे प्रधानमन्त्रीकाे भनाइ

Read Next

बङ्गलादेशलाई जोड्ने पारवहन मार्ग सञ्चालनका २५ वर्ष

Leave a Reply

Your email address will not be published.