काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । महासंघकाे बिहीबार सम्पन्न साधारणासभाबाट उनी वरिष्ठ उपाध्यक्ष चयन भएका हुन् ।
बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिष्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन भएको थियो ।
दोस्रो चरणको निर्वाचन हुनुअघि गरिएको सहमतिको प्रयास सफल भएपछि उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकाे घाेषणा गरियाे ।महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।
महासंघकाे बुधबार निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनकाे बिहीबार बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कूल मतभार मध्ये अञ्जनले सबैभन्दा बढी ३७.९९ प्रतिशत मत प्राप्त गरेका थिए । उमेशलालले ३१. ५१ मत प्राप्त गरेका थिए । साथै, संघईले ३०.४६ मत प्राप्त गरेका थिए । साथै, बुधबारको निर्वाचनमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् । एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।
महासङ्घको अध्यक्षमा ढकाल, प्राथमिकतामा पाँच काम
नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औं साधारणसभामार्फत महासङ्घको २०औं अध्यक्षमा उनी निर्वाचित भएका हुन् ।
अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका छन् । सपथपछि उनले आफूले लामो समयदेखि सर्वसम्मतीको प्रयास जारी राखेको र अन्तिममा सफल भएको बताए ।
उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरूको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रूपमा महासङ्घको छवीलाई आगामी दिनमा अझ उँचो बनाउनेमा विश्वास व्यक्त गरे ।
अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन् । महासङ्घमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् । ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन् ।