Nepal Purbadhar

ई-बिडिङ ह्याक प्रकरण: आठ निर्माण व्यवसायी प्रहरी नियन्त्रणमा, को को परे?

सांकेतिक तस्बीर।


काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय ठेक्का प्रणाली (ई-बिडिङ) ह्याक गरी ठेक्का प्रक्रियामा छेडखानी गरेको आरोपमा प्रहरीले एकैपटक आठ जना निर्माण व्यवसायीलाई नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ‘क’ वर्गका निर्माण व्यवसायी आशिष निर्माण सेवाका प्रबन्ध निर्देशक ऋषिकेश गौली, कार्यकारी निर्देशक निर्माण गौली र निर्देशक चाहाकुमारी गौली रहेका छन्।

आशिष निर्माण सेवा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतको परियोजनामा समेत संलग्न छ। कम्पनीले विदेशी कम्पनी बोजलारसँगको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) मा एमसीसीअन्तर्गत काठमाडौंको लप्सीफेदी सबस्टेसनदेखि नुवाकोटको रातमाटे सबस्टेसनसम्मको प्रसारण लाइन निर्माणको जिम्मा पाएको थियो।

त्यसैगरी, हाइ हिमालय हाइड्रो कन्स्ट्रक्सनका अध्यक्ष किरण मल्ललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको कम्पनीले गत वर्ष सिक्टा सिँचाइ आयोजनाको ठेक्का पाएको थियो।

कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे यसअघि नै यही प्रकरणमा पक्राउ परी धरौटीमा रिहा भएका थिए। अहिले उनका छोरा तथा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले उनको खोजी गरिरहेको बताएको छ।

यसअघि विक्रम पाण्डेसँगै पक्राउ परेका सरकारी कर्मचारी दिवाकर देउजालाई प्रहरीले ई-बिडिङ ह्याक प्रकरणको मुख्य योजनाकारका रूपमा अनुसन्धान गरिरहेको छ। देउजाको नेतृत्वमा निर्माण व्यवसायीहरूको समूहले सरकारी विद्युतीय ठेक्का प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का प्रक्रियामा छेडखानी गरेको आरोप छ।

प्रहरीले पक्राउ परेका निर्माण व्यवसायीहरूलाई सोमबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउने तयारी गरेको छ।


Read Previous

अर्घ्य अर्पण र ‘जाकुरी’ पूजासँगै जितिया पर्वको समापन (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar