Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

राँके-रवि-भेडेटार सडक: ५० महिनामा २५ प्रतिशत मात्रै प्रगति   


पाँचथर । पूर्वी नेपालका ४ जिल्लालाई जोड्ने राँके-रवि-भेडेटार सडक निर्माणले गति लिन नसक्दा ५० महिनामा पनि सम्पन्न हुन सकेकाे छैन । निर्माण ठेक्का पाएकाे ठेकेदारले समयमा काम नगर्दा १४ महिना अगाडि नै सम्पन्न भइसक्नु पर्ने सडक खण्डकाे कामले गति लिन नसकेकाे हाे ।

५० महिनाअघि निर्माण सुरु भएकाे सडककाे अहिलेसम्मकाे प्रगति २५ प्रतिशत मात्रै छ । सम्पन्न भइसक्नु पर्ने समयमा अहिले ठेकेदारले सडक निर्माणका क्रममा ट्र्याक विस्तार गर्ने,पर्खाल हाल्ने तथा ढलानको तयारी गर्ने काम गरिरहेकाे सङ्घीय सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेले बताए ।

उनका अनुसार  करिब  ४ वर्षको अवधिमा सडक निर्माणमा १८ प्रतिशत मात्रै भौतिक प्रगति भएको थियो । पछिल्लाे ३ महिनामा निर्माण कम्पनीले थप ७ प्रतिशत भौतिक प्रगति हासिल गरेको उनले बताए ।

ठेक्का पाएको भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिले पछिल्लो समय नेपाली निर्माण कम्पनीको सहायता लिई निर्माण अघि बढाएपछि थप प्रगति देखिएको हो । अहिले उक्त सडकको पाँचथर र इलाममा पर्ने राँके-रवि खण्डको २८ किलोमिटरमा सडकको ट्र्याक विस्तार गर्ने तथा पर्खाल हाल्ने कार्य भइरहेको छ ।

यस्तै, धनकुटामा पर्ने ६ नम्बर बुधबारे बजार-भेडेटार खण्डमा ट्र्याक विस्तारको कार्य सम्पन्न भई कालोपत्रका लागि ‘बेस’ हाल्ने कार्य सुरु भएको डिभिजनका प्रमुख पोखरेलले जानकारी दिए ।

सडकको १०१ किलोमिटरमध्ये सन् २०२३ भित्र ५० किलोमिटर कालोपत्र सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता रहेको उनकाे भनाइ छ । “निर्माण कम्पनीले ५० किलोमिटर कालोपत्रे गर्ने भने पनि अहिलेको रफ्तार कायम रहे सन् २०२३ मा निर्माण कार्यमा न्यूनतम ४० प्रतिशत प्रगति हुने हामीले अनुमान गरेका छौं”,पोखरेलले भने, “ठूलो प्याकेज भएका कारण अहिले जसरी नै स्थानीय निर्माण व्यवसायीको साथ लिए लक्ष्य पूरा हुनसक्ने देखिन्छ ।”

५० महिनाको अवधिमा यो सडक निर्माणका लागि ३ पटक म्याद थप भइसकेको छ । सन् २०१८ नोभेम्बर १ मा तीन वर्षअर्थात् २०२१ डिसेम्बर २ भित्र निर्माण सम्पन्न गर्ने गरी भारतीय निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो ।

निर्धारित अवधिमा निर्माण कम्पनीले करिब १४ प्रतिशत भौतिक प्रगति हासिल गरेको थियो । निर्माण कम्पनीले निर्माण कार्यका लागि पुर्याउने जनशक्ति र उपकरणको परिचालन गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन भने अवरोध हटाउन आवश्यक समन्वयसमेत हुन सकेको थिएन ।

भारत सरकारको सहुलीयतपूर्ण ऋण सहयोगमा सडक निर्माण भइरहेका कारणका निर्माणका लागि खरिद हुने सम्पूर्ण सामग्रीको ५१ प्रतिशत सामग्री भारतबाट आयात गर्नुपर्ने प्रावधान छ । यसकारण निर्माण कम्पनीले सहजै निर्माण सामग्री आयोजनास्थलसम्म ल्याउन सकेको छैन । सामग्री खरिदसहितका प्रावधानलाई सहज बनाउन नेपाल सरकारले पहल गरेको भनिए पनि खुकुलो व्यवस्था हुन सकेको छैन् ।

सडक क्षेत्रमा पर्ने रुख कटानी, निजी तथा सामुदायिक संरचना हटाउने, विद्युतकाे पोल सार्नेजस्ता कार्य २ वर्षसम्म हुन नसक्दा सडक विस्तार कार्य अवरुद्धजस्तै भएको थियो । कोभिड–१९ को प्रकोपका कारणसमेत निर्माण कार्य अवरुद्ध हुन पुगेको थियो ।

तेस्रो पटक म्याद थप गरी सन् २०२४ अगस्ट २८ सम्म पुर्याइएको डिभिजन प्रमुख पोखरेलले बताए । “निर्माण कार्य अघि बढाउन अब कुनै समस्या नरहेकाले निर्धारित मितिमा काम सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता छ”, उनले भने, “तर, याे अवधिसम्ममा न्यूनतम ७० प्रतिशत काम हुने हाम्राे अपेक्षा छ ।”

इलाम, पाँचथर, धनकुटा, मोरङ जिल्लालाई समेट्ने यो सडक भारतीय एक्जिम बैंकको सहुलीयतपूर्ण ऋण सहयोगमा निर्माण थालिएको थियो । भारतको एक्जिम बैंक अफ इन्डियाको ८७ प्रतिशत र नेपाल सरकारबाट १३ प्रतिशत गरी कूल ३ अर्ब ६५ करोड ८४ लाख ९५ हजार ५ सय ७२ रुपैयाँ लगानीमा सडक कालोपत्रको काम अघि बढाइएको थियो ।

७ मिटर चौडा, दुवैतर्फ एक /एक मिटर नालीसहित ९ मिटरको सडक निर्माण गर्ने सम्झौतामा उल्लेख छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलीयतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेको थियो ।

पहाडी र उच्च पहाडी क्षेत्र हुँदै निर्माण हुने यो सडकमा एउटा पनि पूल छैन । स–सानाबाहेक ठूला चट्टान तथा अवरोधसमेत छैन । तर, निर्माण कम्पनीले समयमा काम नगरेपछि यहाँका स्थानीयवासीले ठूलो सास्ती भोग्दै आएका छन् ।

हिलोका कारण विशेषत वर्षायामका समयमा यो सडक पूर्णत अवरुद्ध हुने गर्दछ । यसकारण बिरामीलाई अस्पताल पुर्याउनेदेखि खाद्यान्न ढुवानीजस्ता कार्यसमेत प्रभावित हुने गरेका छन् ।


Read Previous

विद्युत व्यापारमा निजी क्षेत्र प्रवेशकाे आवश्यकता

Read Next

हटिया-ताराखोला सडककाे थपेकाे म्याद सकियो, सकिएन कालोपत्रे   

Leave a Reply

Your email address will not be published.