Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

कृषिमा प्रविधिको प्रयोगले बढ्याे उत्पादन


गलेश्वर। कृषिमा यान्त्रीकरण भएपछि म्याग्दीका किसानको बाली उत्पादनमा वृद्धि भएको छ । परम्परागत रुपमा जोत्दै आएको खेतबारीलाई आधुनिक यन्त्रको प्रयोग गर्दा कम लागतमा उत्पादनमा वृद्धि भएको किसानको भनाइ छ ।

किसानको धेरै समय खेतबारी खनजोतमा नलाग्ने र काम गर्न सहज हुने भएपछि यान्त्रीकरणतर्फ किसानको आकर्षण बढेको छ । बेनी नगरपालिका–२ खवराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले पुर्खौंदेखि खेत जोत्न प्रयोग हुँदै आएको ‘गोरुले जोत्न’ छाडेका छन् ।

उनले अहिले खेतबारी जोत्नका लागि गोरुको ठाउँमा (पावर टिलर) को प्रयोग गर्छन । ‘कम श्रममा एकैपटक धेरै खेत जोत्न सकिने भएपछि गोरु बेचेर पावर टिलर खरिद गरेको हुँ’, उनले भने, ‘गोरु पाल्नका लागि घरका अरु सदस्यले घाँस काट्ने, खुवाउने र चराउने काम पनि घटेको छ । पावर टिलर खरिद गरेपछि काम छिटोछरितो भएको छ ।’

पावर टिलरको प्रयोग गरेपछि चार दिनको काम दुई घन्टामा पूरा भएको कृषकको भनाइ छ । कृषि यन्त्रको सहयोगले कृषि कार्यले काममा सहज हुनुका साथै समयको बचत भएको उनले बताए । कृषि उत्पादनमा विगतको तुलनामा दोब्बरले वृद्धि भएको छ । पावर टिलरले जोतेको खेतमा बाली धेरै उब्जनी भएको छ । गोरुले जोतेकोभन्दा धेरै राम्रोसँग माटो जोतिने भएकाले रोपाइँ गर्दा पनि एकदमै छिटो र सजिलो हुन्छ ।

आफ्नो जमिन जोतेर सकियो भने अरुको खेत जोतेर आम्दानी पनि हुने गरेको छ, गाउँघरका अरुका खेतबारी जोतेर आम्दानी हुने गरेको छ अहिले आफूसँग कर्नसेलर, पावर टिलर र रिपरलगायतका कृषि यन्त्र रहेको कार्कस बताउँछन् । मालिका गाउँपालिका–२ का भीमबहादुर बूढाले विगत तीन वर्षदेखि खेतबारी जोत्न पावर टिलरको प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गर्ने पावर टिलर अनुदानमै पाएका हुन् ।

पावर टिलरले जोतेको माटो मसिनो र एकनाशले जोतिने भएकाले बाली लगाउनलाई सजिलो हुने र मेलो सजिलै सर्ने गरेको उनकाे अनुभव छ । यसले कृषि उत्पादनमा समेत वृद्धि भएको कृषक बुढा बताउँछन् । ‘धान, गहुँलगायतका बाली भित्र्याउँदा विगतमा धेरै जनशक्ति प्रयोग गरेर बाली भित्र्याउनुपर्थ्याे । गोरुको सहायताले दाईं गर्नुपथ्र्यो, खेतबाट खलियानमा ल्याउन र खलियानमा ल्याएको बाली घरमा भित्र्याउनका लागि महिनौँ कुर्नुपर्थ्याे, उनले भने, ‘अहिले खेतमै पावर टिलर, ट्र्याक्टरमा ट्राली जोडेर खलियानसम्म बाली ल्याउन सजिलो भएको छ । यन्त्रमा रिपर जडान गरेर धान गहुँ दाउन थ्रेसरको सहायताले छिटो काम हुन थालेको छ ।’

‘कृषिमा परम्परागत साधनको प्रयोगले पहिलेपहिले मजदुरको सहयोग लिँदा धेरै खर्च हुने गरेको अनुभव रहेको बताउँछन, मङ्गला गाउँपालिका रणबाङका कृषक हरिकृष्ण पौडेल । उनले आधुनिक कृषि यन्त्रको प्रयोगले समय र लागतसमेत कम भएको बताउँछन् । मजदुर पनि नपाइने भएकाले यन्त्रको प्रयोग गरेर खेती गर्दा कम लागतमा कृषिको उत्पादन लिन सकिएको बताउँदै पौडेलले भने ‘अब धान रोप्ने यन्त्र पनि ल्याउने सोचाइमा छु ।’

यस्तै बेनी नगरपालिका–५ पुलाचौरका राम बानियाँले पहिले पहिले घरपरिवारको खर्चका लागि मात्र खेतीपाती गर्दै आएकामा कृषिमा सहयोग पुगोस् भनेर पावरटिलर र रिपर अनुदानमा पाएपछि व्यावसायिक तरकारीखेतीमा लागेको बताए । ‘यन्त्रको प्रयोग भएपछि काममा सजिलो भएको छ, खनजोत गोडमेल गर्न ज्यालामा मजदुर खोज्न परेको छैन, घरपरिवारले मात्रै सजिलै काम गर्न सकेका छाैं’ उनले भने ।

व्यावसायिक खेती गर्ने अधिकांशले परम्परागत रुपमा प्रयोग गर्दै आएका कृषि साधनको साटोमा आधुनिक कृषियन्त्रको प्रयोग गरेकाले सबैलाई खेती गर्न सजिलो भएको छ । अहिले यान्त्रिक हलो प्रयोग गर्न थालेपछि गाउँघरमा व्यावसायिक खेती गर्नेको सङ्ख्या बढेको उनले बताए । खतजोत गर्न सजिलो भएपछि ग्रामीण क्षेत्रका कृषकले वर्षभरि नै मौसमी र बेमौसमी तरकारी उत्पादनमा लागेका छन् ।

मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले व्यावसायिक किसानलाई छनोट गरी उत्पादकत्व बढाउन सहयोग पुगोस् भनेर ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण गर्न थालेको बताए ।

उनले किसानलाई आवश्यक परेका कृषि औजार माग गर्न किसानको जानकारीका लागि सूचना जारी गरेपछि किसानले मेसिन माग गरेअनुसार प्रक्रिया पु¥याएर कृषियन्त्र वितरण गर्ने गरेको बताए । त्यसमध्ये कम लागतमा साना व्यावसायिक किसानले किन्नसक्ने भएकाले अनुदानमा किसानले पावर टिलरको माग धेरै छ ।

कृषि कार्यका लागि किसानले पावर टिलर र औजारको प्रयोग गर्न थालेपछि आम्दानीमा वृद्धि भएको र समयको बचत भएको प्रतिक्रिया छ । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले आधुनिक कृषियन्त्र तथा औजार विगतका वर्षमा किसानलाई पावर टिलर, रिपर, कमानहार्डभेस्टर, रोटावेटर, ठूलो ट्र्याक्टरलगायतका कृषियन्त्र वितरण गरिएको बताए ।

कृषियन्त्र र औजारको प्रयोगले किसानलाई खेतीमा आकर्षण गरेको छ । सरकारले कृषिको उत्पादकत्व बढाई कृषि उत्पादनको लागत खर्च कटौती गर्नका लागि यन्त्रको मूल्यअनुसार ५० देखि ६० प्रतिशत अनुदानमा कृषियन्त्र उपलब्ध गराउन थालेपछि किसानले कृषियन्त्रको प्रयोगलाई प्राथमिकता दिन थालेकाले यतातिर किसानको आकर्षण बढेको छ । साना किसानका लागि पावरटिलर र ठूला किसानका लागि ठूलो ट्र्याक्टर अनुदानमा प्रदेश सरकारले विगतका वर्षमा उपलब्ध गराएको थियो ।

जिल्लामा खनजोत गर्न ट्र्याक्टरको प्रयोग बढेको छ भने गोरु र हलो विस्थापित हुने क्रममा छन् । कार्यालयले चार वर्षको अवधिमा जिल्लाका प्रायःसबै गाउँपालिकामा गरी १ हजार चार सय ४२ वटा हाते ट्र्याक्टर वितरण गरिसकेको कृषि ज्ञानकेन्द्र म्याग्दीले जनाएको छ । कार्यालयले धान र गहुँ झार्ने थे्रसरसमेत वितरण गरेकाले कृषकलाई दाइँ गर्ने झन्झटसमेत हटेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलको भनाइ छ ।

जिल्लाको समथर फाँट भएका खेतमा ठूला ट्र्याक्टरको प्रयोग बढेको छ भने पहाडी तथा भिरालो र ससाना गरामा हाते ट्र्याक्टर प्रयोग भएको पाइन्छ । कार्यालयको योजना र मागअनुसारको सहयोग सरकार वा कुनै पनि दातृनिकायबाट प्राप्त भइरहेमा अबको पाँच/सात वर्षमा जिल्लामा यान्त्रिक खेती प्रणाली विकास हुने उनले बताए ।

‘पहिले जनशक्ति नहुँदा खेतबारी बाँझै हुन्थ्यो’ उनले भने ‘उपकरणको प्रयोगले सबैतिर खेती भएको पाइन्छ ।’ व्यवसायकै लागि किसानले ट्याक्टर खरीद गरेका छन् । खेतीको समयमा खेत जोत्न ट्र्याक्टर धनीलाई भ्याइनभ्याइ हुन्छ भने अन्य समयमा निर्माण सामग्रीको ढुवानीमै व्यस्त देखिन्छन् । कृषि फार्ममा किसानलाई सजिलो र सहज बनाउन हरेक वर्ष हाते ट्र्याक्टर वितरण गर्दै आएको कार्यालयले जानकारी दिएको छ । रासस


Read Previous

‘मास प्रिन्टर’ खरिदका लागि पुनः बोलपत्र आह्वान गरिने

Read Next

नेपालमा ई–सिम प्रयाेगकर्ता २९ हजार नाघे

Leave a Reply

Your email address will not be published.