Nepal Purbadhar

पर्यटन प्रवद्र्धनका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै


गण्डकी। एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)ले म्याग्दी तथा हिमालपारीको जिल्ला मुस्ताङको कोरला नाकासम्म बुधबारदेखि पर्यटन प्रवद्र्धन कार्यक्रम सुरु भएको छ ।

नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहयोगमा गर्न लागिएको प्रवद्र्धनात्मक कार्यक्रममा पर्यटनसम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता छ । टेवानका अध्यक्ष कमला गिरीका अनुसार कोरोनालगायत विभिन्न कारणले सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि चारदिने प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धिलगायतका कार्यक्रम राखिएको उनकाे भनाइ छ ।

कार्यक्रमका क्रममा युवा तथा महिला उद्यमीलाई लक्षित गरी म्याग्दीको बेनी, मुस्ताङको जोमसोम, ठिनी, उपल्लो मुस्ताङस्थित लोमन्थाङमा क्षमता अभिवृद्धि तालिम एवं अन्तक्र्रिया गर्ने बताइएको छ । नेपाल र चीनबीचको सीमानाका कोरला नाकासम्मको प्रवद्र्धनात्मक भ्रमणका क्रममा धार्मिक एवं ऐतिहासिकस्थल मुक्तिनाथ, गुम्बा आदिकोे प्रवद्र्धन गरिने गिरीले बताइन ।

कार्यक्रमअन्तर्गत स्थानीय पर्यटन व्यवसायीका लागि क्षमता अभिवृद्धि, डिजिटल मार्केटिङ तालिम एवं स्थानीय उत्पादनको ब्राण्डिङ र घरवास प्रवद्र्धन गरिने कार्यक्रम संयोजक शोभा अधिकारी पौडेलले जानकारी दिइन । रासस


Read Previous

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

Read Next

होलीदेखि अन्नपूर्ण केवलकारका यात्रुलाई भारी छुट