Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

पोखरा–भद्रपुर सिधा उडानले व्यवसायी खुसी


पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् ।

निजी क्षेत्रको बुद्ध एयरले आगामी मार्च ९देखि पोखरादेखि भद्रपुरसम्म सिधा हवाई उडान गर्ने तयारी गरेको छ । ‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ’,स्टेशन म्यानेजर गौतम बरालले भने । उनले अब केही दिनपछि पोखरा–भद्रपुर उडान सुरु हुने जानकारी दिए ।

म्यानेजर बरालका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ ।

पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने मेनेजर बरालको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटि बढ्ने र आन्तरिक पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । ‘पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन भूमिका निर्वाह गर्छ’ उनले भने ।

अध्यक्ष श्रेष्ठले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष आग्रह गरे ।

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटि पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवद्र्धन हुने उनकाे भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन बिक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए ।

योसँगै बुद्ध एयरले मार्च ९देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि सुरु गर्दैछ । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ । अहिले पोखरा–भद्रपुर सडक यात्रा गर्दा करिब १८ घण्टा बिताउनाका साथै २४ सय–२७ सय रूपैयाँसम्म भाडा तिर्नुपर्छ तर हवाई उडानबाट भने ७० मिनेटमै यात्रा गर्न सकिने र हवाई भाडा पनि ९ हजार ६८५ रूपैयाँ पर्छ ।


Read Previous

४ लेन सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयलाई सास्ती

Read Next

बेथानचोकमा सुरुङमार्ग अध्ययनकाे लागि सम्झौता

Leave a Reply

Your email address will not be published.