Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

आँबुखैरेनीदेखि लाब्दीसम्म जाने सडक कालोपत्रको तयारी


दमाैंली । महाभारत पर्वत श्रृङ्खलाको उच्च भागमा अवस्थित तनहुँको छिम्केश्वरीसम्म जाने सडक कालोपत्रको तयारी गरिएको छ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनीदेखि छिम्केश्वरीको फेदी लाब्दीसम्म सडक कालोपत्रको तयारी गरिएको हो ।

हालसम्म साइट कटिङ, नाला निर्माण, बेसमेन्टको काम र ग्राभेल काम सकिएको छ । सम्झौताअनुसारको ७५ प्रतिशत काम सकिएको र कालापत्रे गरेपछि सबै काम पूरा हुने साइड इञ्चार्ज शिव रिजालले जानकारी दिए ।

उक्त सडकखण्डमा यही फागुन २० गतेबाट कालोपत्र सुरु गर्ने तयारी गरिएको छ । तीन इञ्च बाक्लो कालोपत्र रहने सडकमा चितवनको जुगेडीबाट उपकरण ल्याएर काम सुरु गरिने उनले बताए । ‘चैत महिनाभित्रै काम सम्पन्न गर्ने गरी तयारी थालेका छौं’ उनले भने ।

यसअघि एक हजार दुई मिटर खण्ड कालोपत्र भइसकेको छ । कूल १६ किमी सडकको बाँकी खण्ड कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट ८ करोड ४७ लाख र सङ्घ सरकारबाट समपूरक कोषअन्तर्गत ८ करोड ४७ लाख रूपैयाँ बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौँस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।

छिम्केश्वरीसम्म पुग्ने सडक कालोपत्र भएपछि मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा वृद्धि हुने विश्वास गरिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सडक कच्ची हुँदा पनि छिम्केश्वरीमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेकामा सडक कालोपत्रपछि भक्तजनको सङ्ख्या थप बढ्ने बताए ।

आँबुखैरेनी गाउँपालिका–५ मा अवस्थित छिम्केश्वरी माई मन्दिर समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटरको उचाइमा अवस्थित छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ ।

सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । छिम्केश्वरीबाट धौलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छ्रे लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी माई मन्दिरको पुनःनिर्माण गरेको छ । छिम्केश्वरी मन्दिर पुग्नका लागि गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ ।

आर्थिक वर्ष ०७५/७६ मा रु ४१ लाख ६३ हजार सात सय छको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६/७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबाससमेत सञ्चालनमा छ । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले केही वर्ष अगाडिदेखि घरबास सञ्चालन गर्दै आएका छन् ।

गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेल रोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिइन् ।  हिलेखर्कमा रहेको दुई घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ । रासस


Read Previous

जोरपाटी–सुन्दरीजल सडक विस्तारको काम सम्पन्न हुने चरणमा

Read Next

प्रधानमन्त्रीले गरे माछाखोला जलविद्युत आयोजनाको उद्घाटन

Leave a Reply

Your email address will not be published.