Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

खोरिया र लमसुङ सडक सञ्जालमा जोडिए, पाँच सय घरधुरी लाभान्वित


म्याग्दी । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका–२ को खोरिया र लमसुङगाउँ सडक सञ्जालमा जोडिएका छन्। वडा नं ३ मा पर्ने गाउँपालिकाको केन्द्र मुनाबाट महतला हुँदै खोरिया र २ नं वडा कार्यालय रहेको लमसुङ जोड्ने सडक निर्माण सकिएको हो। विसं २०७४ देखि सुरु भएको सडक निर्माणले पूर्णता पाएसँगै यातायातका साधन सञ्चालन हुन थालेका छन्।

धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले सडक निर्माण भएपछि स्थानीयवासीमा खुसीयाली छाएको बताए। ‘बस र जीप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्,’ उनले भने। मुनाबाट लमसुङसम्मको सात किलोमिटर दूरीको सडकमा यातायात सञ्चालन हुन थालेका र लमसुङबाट लुलाङ हुँदै गुर्जा जोड्ने सडकको एक किलोमिटरभन्दा बढी मार्ग खोलिसकिएको छ। मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा खनिएको सडक स्तरोन्नति भएपछि गत हप्तादेखि यातायातका साधन चल्न थालेका हुन्।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँ बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भिरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो। सो ठाउँमा सडक ढलानको काम थालिएको छ।

गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुनसकेको थिएन। महतलामा तीन वर्षअघि सडक पुगेको थियो। गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङबाट लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ।

अक्करे पहाडमा करिब एक सय मिटर दूरीमा चट्टान काटेर मार्ग खोलिए पनि ग्रेड मिलाउन र फराकिलो बनाएर यातायातका साधन चल्न योग्य बनाउन यसपालि योजनालाई निरन्तरता दिइएको थियो। खोरियाका मतिप्रसाद पाइजाले अक्करे पहाड छिचोलेर खोलिएको सडकमा यातायात सञ्चालन भएपछि सहज भएको बताए।

‘सडक यातायातको सुविधा नहुँदा गाडी चढ्न हिँडेर महतलाको भिरसम्म पैदल हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘गाउँमै गाडी चल्न थालेपछि यात्रा अवधि छोटिएको र ढुवानी खर्च घटेको छ।’ लुलाङ–गुर्जा सडक निर्माणका लागि धवलागिरि गाउँपालिकाले ४५ लाख र गण्डकी प्रदेश सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेका छन्। सो बजेटबाट मजदुर परिचालन गरेर लमसुङबाट लुलाङतर्फ सडक निर्माण भइरहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताए। बस्तीमाथि सडक खन्दा जोखिम हुने भएकाले डोजरका विकल्पमा मजदुर परिचालन गरिएको उनले बताए।


Read Previous

तीनपटक म्याद थप, तैपनि सकिएन बृहत् लिफ्ट आयोजना

Read Next

तुलसी ट्रेड टावर निर्माणको काम अघि बढ्यो

Leave a Reply

Your email address will not be published.