Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने


काठमाडौं । ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । लमजुङको दोर्दी खोलामा निर्माण पूरा भएको आयोजनाको सिभिल संरचनाको अवस्था ठिक भए/नभएको हेर्न पानी भरेर परीक्षण थालिएको हो ।

विद्युत उत्पादन सुरु गर्नु अगाडि आयोजनाको बाँध, डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी), सुरुङ लगायत संरचनामा केही दिनदेखि पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको प्रवर्द्धक पिपुल्स हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए ।

‘हाम्रो आयोजना निर्माण पूरा भई विद्युत उत्पादनको चरणमा पुग्न लागेको छ,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘विद्युत उत्पादन सुरु गर्नुअघि सबै संरचनाको अवस्था ठिक छ/छैन भनेर पानी भरेर परीक्षण गरिरहेका छौं ।’

आयोजनाको उपकरणहरूको परीक्षण (ड्राइ टेष्ट) सकिएपछि पानी भरेर परीक्षण गर्न थालिएको हो । संरचनाको परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गर्न अब करिब डेढ महिना थप समय लाग्ने पनि रायमाझीले जानकारी दिए ।

पहिलो विद्युत उत्पादनको तालिकाअनुसार यो आयोजना २०७६ सालमा नै निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा आइसक्नु पर्ने थियो । तर, भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, २०७८ असार १ मा आएको भीषण बाढीले संरचनामा क्षति पुर्याउँदा तथा प्रसारण लाइनको समस्याले निर्माण प्रभावित हुँदा ढिलाइ हुँदै आएको छ ।

प्राकृतिक प्रकोप, महामारी सबै पार गर्दै आयोजना विद्युत उत्पादनको चरणमा पुर्याउन सम्भव भएको रायमाझीले बताए । दोर्दी खोलामा आएको बाढीले बाँध क्षेत्रका संरचनामा क्षति गर्नुका साथै निर्माण उपकरण तथा सामाग्री बढाउँदा ठूलो क्षति पुगेको थियो । ‘सबै समस्याबाट पार भएर आयोजना विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छौं । अब ढिलो हुँदैन’ उनले भने ।

सुपर दोर्दी ‘ख’ आयोजनाकाे विद्युतगृह

आयोजनाले उत्पादन गर्ने विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक ६ किलोमिटर प्रसारण लाइन प्रवर्द्धक कम्पनीले नै निर्माण गरिरहेको छ ।

प्रसारण लाइनको निर्माण पनि सकिन लागेको रायमाझीले बताए । सुरुवातमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । तर, निर्माणकै क्रममा आयोजनाको क्षमता स्तरोन्नति गरी ५४ मेगावाट पुर्याइएको हो ।

आयोजना निर्माण सम्पन्न हुँदा साढे ८ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा कूल लगानीको ७० प्रतिशत बैंकको ऋण छ । ३० प्रतिशत स्वपुँजी लगानी छ । स्वपुँजी लगानीको १० प्रतिशत आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा जिल्लाबासीले लगानी गरेका छन् । नबिल बैंकको अगुवाईमा ९ वटा बैंकले आयोजनामा ऋण लगानी गरेका छन् ।

आयोजनाको विद्युतगृहमा २७ मेगावाट क्षमताका २ वटा उत्पादन युनिट रहने छन् । यो आयोजना सञ्चालनमा आउँदा वार्षिक २८ करोड ६४ लाख युनिट विद्युत उत्पादन हुनेछ । दोर्दी खोलाको पानी विद्युतगृहमा खसालेर विद्युत उत्पादन गर्न ५.२ किलोमिटर लामो मुख्य सुरुङ निर्माण गरिएको छ ।

दोर्दी कोरिडोरमा निर्माण भएका १२ मेगावाटको दोर्दी-१, २७ मेगावाटको दोर्दी खोला र २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना प्रसारण प्रणालीमा आइसकेका छन् ।


Read Previous

यूटीएललाई वक्यौता भुक्तानी गर्न माघ मसान्तसम्मको समय, केसीएन नेटको लाइसेन्स खारेज

Read Next

तनहुँ जलविद्युत् आयोजना: प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

Leave a Reply

Your email address will not be published.