Nepal Purbadhar

नेपालमा स्वास्थ्य क्षेत्रको सहयोग विस्तार गर्न जापान इच्छुक


काठमाडौं। जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच भएको भेटवार्तामा स्वास्थ्य क्षेत्रको सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको हो।

मन्त्रालयमा भएको औपचारिक शिष्टाचार भेटका क्रममा नेपाल-जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहयोग तथा स्वास्थ्य क्षेत्रमा सहकार्यका सम्भावित क्षेत्रबारे छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।

उनले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थाको विकास र सेवा विस्तारमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसासमेत गरिन्।

भेटमा जापानी राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सरकार सहयोग गर्न तयार रहेको बताए। उनले नेपाल र जापानबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै स्वास्थ्यलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल र जापानबीच लामो समयदेखि विकास निर्माण, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य हुँदै आएको छ।


Read Previous

बाजुरामा सिँचाइ विस्तार हुँदै, खेतीयोग्य जमिनको २३ प्रतिशतमा पुग्यो सुविधा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar