
वासिङ्टन। अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले रिपब्लिकनका महत्त्वपूर्ण निर्वाचन क्षेत्रमा सफलता हासिल गर्दै प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा बहुमत प्राप्त गर्ने सम्भावना बलियो बनाएको छ। प्रारम्भिक चुनावी परिणाम र सञ्चारमाध्यमका प्रक्षेपणले कङ्ग्रेसमा शक्ति सन्तुलन परिवर्तन हुने सङ्केत देखाएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरूको सम्भावित जित स्वीकार गर्दै उनीहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।
द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा ट्रम्पले मध्यावधि निर्वाचनको परिणाम स्वीकार्न आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन्। डेमोक्रेटहरूले प्रतिनिधिसभाको नियन्त्रण लिए पनि उनीहरूसँग सहकार्य गरेर केही महत्त्वपूर्ण काम गर्न सकिने उनको भनाइ छ।
यसअघि चुनावी परिणाम आफ्नो पक्षमा नआए डेमोक्रेटहरूसँग सहकार्य गर्न कठिन हुने बताउँदै आएका थिए।
अमेरिकी सञ्चारमाध्यम सीएनएन र एनबीसी न्युजका प्रारम्भिक प्रक्षेपणअनुसार डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गर्ने सम्भावना छ। एनबीसी न्युजले डेमोक्रेटहरूले कम्तीमा २४४ सिट जित्न सक्ने अनुमान गरेको छ। प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।
डेमोक्रेटहरूले रिपब्लिकनको बलियो पकड रहेका निर्वाचन क्षेत्रमा समेत सफलता हासिल गरेका छन्। उत्तरी क्यारोलिनामा उनीहरूले रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाको सिट खोसेका छन्। न्यु जर्सीमा पनि डेमोक्रेटिक उम्मेदवारले सफलता पाएका छन्। यसले ट्रम्पको दोस्रो कार्यकालप्रति मतदाताको असन्तुष्टि बढिरहेको सङ्केत गरेको छ।
दक्षिण क्यारोलिनामा एनी एन्ड्र्युजले रिपब्लिकन उम्मेदवार डार्लिन ग्राहमलाई पराजित गर्दै ऐतिहासिक जित हासिल गरेकी छन्। उनी उक्त राज्यबाट सिनेटमा निर्वाचित हुने पहिलो महिला तथा दुई दशकभन्दा बढी समयपछि सिनेटको सिट जित्ने पहिलो डेमोक्रेट बनेकी छन्।
त्यस्तै, जर्जियामा सिनेटर जोन ओसोफ र न्यु ह्याम्पसायरमा क्रिस पप्पासले जित हासिल गरेका छन्। उत्तरी क्यारोलिनामा रोय कुपरले ट्रम्पको समर्थन प्राप्त रिपब्लिकन उम्मेदवार माइकल ह्वाटलीलाई पराजित गरेका छन्। यी परिणामले रिपब्लिकन पार्टीको चुनावी पकड कमजोर हुँदै गएको देखाएको छ।
यद्यपि, सिनेटको नियन्त्रण कसले लिने भन्ने विषयमा अन्तिम परिणाम स्पष्ट भइसकेको छैन। चुनावअघि १०० सदस्यीय सिनेटमा रिपब्लिकनका ५३ र डेमोक्रेटका ४७ सिट थिए। सिनेटको नियन्त्रण प्राप्त गर्न डेमोक्रेटहरूले कम्तीमा चार सिटको खुद लाभ हासिल गर्नुपर्ने अवस्था थियो। प्रारम्भिक परिणाममा केही महत्त्वपूर्ण सिटमा सफलता पाए पनि सिनेटको अन्तिम शक्ति सन्तुलन चुनावी परिणामले निर्धारण गर्नेछ।
दैनिक जीवनमा लागत र महँगी ट्रम्पलाई चुनौती
यसपटकको मध्यावधि निर्वाचनलाई ट्रम्पको दोस्रो कार्यकालको जनमतसङ्ग्रहका रूपमा हेरिएको थियो। चुनावमा बढ्दो महँगी, जीवनयापनको लागत, भन्सार शुल्क, सरकारी भ्रष्टाचार र इरानसँगको युद्ध प्रमुख मुद्दा बनेका थिए।
एसोसिएटेड प्रेसको सर्वेक्षणअनुसार करिब तीन चौथाइ अमेरिकी मतदाता देशको वर्तमान अवस्थाप्रति असन्तुष्ट छन्। त्यति नै सङ्ख्याका मतदाताले अमेरिकी अर्थतन्त्र राम्रो नभएको वा कमजोर रहेको बताएका छन्। करिब १० मध्ये आठ मतदाताले मूल्यवृद्धिका कारण आफ्नो परिवारले आर्थिक कठिनाइ भोगिरहेको बताएका छन्।
त्यस्तै, १० मध्ये छ मतदाताले ट्रम्पले देशको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको धारणा व्यक्त गरेका छन्।
ट्रम्पले मुद्रास्फीति नियन्त्रणमा आएको दाबी गर्दै आए पनि अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सेप्टेम्बरमा उपभोक्ता मूल्य एक वर्षअघिको तुलनामा ३.६ प्रतिशतले बढेको थियो। इरानसँगको युद्धका कारण इन्धनको मूल्य बढ्नुले पनि सरकार र सत्तारुढ रिपब्लिकन पार्टीमाथि थप दबाब सिर्जना गरेको थियो।
चुनावी अभियानका क्रममा ट्रम्पले भन्सार शुल्क, आप्रवासन नियन्त्रण र इरानविरुद्धको सैन्य अभियानको बचाउ गरेका थिए। उनले आफ्नो प्रशासनले अमेरिकालाई पुनः बलियो बनाएको दाबी गर्दै मतदातासँग रिपब्लिकन उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए।
तर, मतदाताको प्रमुख चासो महँगी र दैनिक जीवनयापनको खर्च बनेपछि रिपब्लिकनको चुनावी अभियान अपेक्षाअनुसार प्रभावकारी हुन सकेन। डेमोक्रेटहरूले पनि जीवनयापनको लागत घटाउने मुद्दालाई प्रमुखताका साथ उठाएका थिए।
ट्रम्प प्रशासनमाथि संसदीय चुनौती बढ्ने
डेमोक्रेटहरूले प्रतिनिधिसभामा बहुमत हासिल गरेमा ट्रम्प प्रशासनका लागि आगामी दुई वर्ष चुनौतीपूर्ण बन्ने देखिएको छ। उनीहरूले प्रशासनका निर्णय, सरकारी खर्च, आप्रवासन नीति, इरानसँगको युद्ध र कथित भ्रष्टाचारका विषयमा संसदीय छानबिन अघि बढाउन सक्नेछन्।
प्रतिनिधिसभाको नियन्त्रणमा आएपछि डेमोक्रेटहरूले प्रशासनका अधिकारीलाई संसदीय समितिमा उपस्थित गराउन समन जारी गर्ने, आवश्यक कागजात तथा विवरण माग गर्ने र विभिन्न सरकारी निकायको कामकारबाहीमाथि निगरानी बढाउने अधिकार प्रयोग गर्न सक्नेछन्। ट्रम्पको प्रशासनसँग सम्बन्धित विभिन्न निर्णय र उनका व्यावसायिक गतिविधिसमेत अनुसन्धानको दायरामा आउन सक्ने सम्भावना छ।
डेमोक्रेटहरूले रक्षामन्त्री पीट हेगसेथ तथा ट्रम्पका पूर्वसल्लाहकार एवं प्रविधि उद्यमी एलन मस्कसँग सम्बन्धित विषयमा समेत छानबिन अघि बढाउन सक्ने आकलन गरिएको छ।
प्रतिनिधिसभामा डेमोक्रेटिक नेता हाकिम जेफ्रीजले पार्टीले बहुमत हासिल गरे जीवनयापनको लागत घटाउने र ट्रम्प प्रशासनमाथि संसदीय निगरानी बढाउने लक्ष्यसहित पहिलो १०० दिनको कार्ययोजना अघि सार्ने बताएका छन्। उनी सभामुख निर्वाचित भए अमेरिकी इतिहासमा प्रतिनिधिसभाको सभामुख बन्ने पहिलो अश्वेत व्यक्ति हुनेछन्।
सिनेटमा पनि डेमोक्रेटहरूले बहुमत हासिल गरेमा ट्रम्प प्रशासनका लागि थप चुनौती सिर्जना हुनेछ। उनीहरूले न्यायाधीश तथा वरिष्ठ प्रशासनिक अधिकारीको नियुक्तिमा प्रभाव पार्न सक्नेछन्। यसले ट्रम्पको विधायिकी कार्यसूची र प्रशासनिक निर्णय कार्यान्वयनमा प्रत्यक्ष असर पार्न सक्छ।
चुनावी जिम्मेवारीबाट आफूलाई अलग ट्रम्पको राख्ने प्रयास
निर्वाचनमा रिपब्लिकनको कमजोर प्रदर्शन देखिएपछि ट्रम्पले चुनावी परिणामको जिम्मेवारीबाट आफूलाई अलग राख्ने प्रयाससमेत गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफू यसपटकको मतपत्रमा उम्मेदवारका रूपमा नरहेको उल्लेख गर्दै आफू चुनावमा उम्मेदवार भएको भए रिपब्लिकनहरूले ठूलो मतान्तरले जित्ने दाबी गरेका छन्।
तर, चुनावी अभियानका क्रममा भने उनले मतदातालाई आफू पनि मतपत्रमा रहेको जस्तो ठानेर मतदान गर्न आग्रह गरेका थिए। यसले चुनावलाई आफ्नो दोस्रो कार्यकालको जनमतसङ्ग्रहका रूपमा प्रस्तुत गर्ने उनको रणनीति र परिणामपछि जिम्मेवारीबाट अलग रहने प्रयासबीच विरोधाभास देखाएको छ।
यसअघि ट्रम्पले डेमोक्रेटहरूले कङ्ग्रेसको नियन्त्रण लिए आफूले उनीहरूका योजनामा भिटो प्रयोग गर्ने बताएका थिए। तर, पछिल्लो अन्तर्वार्तामा भने निर्वाचन परिणाम स्वीकार गर्दै सहकार्य गर्न तयार रहेको बताएका छन्।
यसैबीच, प्रतिनिधिसभामा डेमोक्रेटहरूको सम्भावित पुनरागमनले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनको तयारीमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ। बलियो चुनावी प्रदर्शनले डेमोक्रेटिक पार्टीभित्रका सम्भावित राष्ट्रपतीय उम्मेदवारलाई थप बलियो बनाउनेछ भने उपराष्ट्रपति जे.डी. भान्सलगायत ट्रम्पनिकट रिपब्लिकन नेताहरूको राजनीतिक भविष्यमा पनि प्रभाव पर्न सक्नेछ।
अमेरिकी मध्यावधि निर्वाचनको परिणामले ट्रम्प प्रशासनको बाँकी कार्यकालमा ह्वाइट हाउस र कङ्ग्रेसबीचको सम्बन्ध कस्तो रहने भन्ने निर्धारण गर्नेछ। प्रतिनिधिसभामा डेमोक्रेटहरूको नियन्त्रण कायम भए ट्रम्पले आफ्ना नीति तथा कार्यक्रम अघि बढाउन विपक्षीसँग सहकार्य गर्नुपर्ने बाध्यता बढ्नेछ। यसले अमेरिकी राजनीतिमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने अपेक्षा गरिएको छ।


