Nepal Purbadhar

मङ्लबार, चैत्र ६, २०८०
Tuesday, March 19, 2024

मङ्लबार, चैत्र ६, २०८०
Tuesday, March 19, 2024

तनहुँ जलविद्युत् आयोजना: प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न


तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।

हालसम्म उक्त प्याकेजमा ६ अर्ब ३९ करोड ७० लाख ५६ हजार रुपैयाँ खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।

प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा ३ अर्ब ८३ करोड १३ लाख ६० हजार रुपैयाँमा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो ।

आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । “मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत्गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्”, श्रेष्ठले भने ।

आयोजनाको १ हजार चार सय ५६ दहमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ ।

प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा रू २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो ।

यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । “डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ”, श्रेष्ठले भने।

सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्र्तगत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्र्तगत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ ।

प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्र्तगत हालसम्म रू दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ ।

प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ ।

सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ ।

प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शुन्य छ र वित्तीय प्रगति ५३ दशमव शुन्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ ।


Read Previous

सुपर दोर्दी ‘ख’को संरचनामा पानी भरेर परीक्षण, विद्युत उत्पादन गर्न थप डेढ महिना लाग्ने

Read Next

राहदानी सेवा सहज बनाउन अब अग्रिम अनलाइन आवेदन

Leave a Reply

Your email address will not be published.