
काठमाडौं। नेपाली सूचना प्रविधि क्षेत्रका उत्पादन, सेवा तथा नवीन प्रविधिलाई स्वदेशी र अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘आकाशटेल नास-आईटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ। नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास-आईटी) ले आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा दुईदिने एक्स्पो आयोजना गर्न लागेको हो।
‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering Nepal’s Next Economy) भन्ने नारासहित आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी नेपाली प्रविधि कम्पनी सहभागी हुनेछन्। यस वर्षको एक्स्पोमा स्टार्टअप प्याभिलियन र दुई ओटा विषयगत प्यानल छलफलसमेत थप गरिएको आयोजकले जनाएको छ।
नास-आईटीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एक्स्पोका बारेमा जानकारी दिएको हो। पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष दिपेन चापागाईंले गत वर्ष आयोजना गरिएको पहिलो संस्करण अपेक्षाकृत सफल भएकाले यस वर्षको एक्स्पोलाई थप विशेष र प्रभावकारी बनाउन नयाँ कार्यक्रम समावेश गरिएको बताए।
उनका अनुसार नेपाली प्रविधि कम्पनीहरूले विकास गरेका उत्पादन, सफ्टवेयर र सेवाबारे स्वदेशी कम्पनीहरूबीच नै पर्याप्त जानकारी र सहकार्य हुन नसकेको र एक्स्पोले नेपाली कम्पनीका उत्पादनलाई एकअर्कासँग परिचित गराउनुका साथै अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने अवसर प्रदान गर्नेछ।
‘नेपाली कम्पनीहरूले अन्तर्राष्ट्रिय स्तरका प्रविधि उत्पादन तथा सेवा विकास गरिरहेका छन्। अब ती उत्पादनको बजार विस्तार, स्वदेशमै प्रयोग वृद्धि र अन्तर्राष्ट्रिय पहुँच बढाउनु आवश्यक छ। नास-आईटी एक्स्पोले नेपाली प्रविधि कम्पनीलाई बजार, लगानीकर्ता र सम्भावित साझेदारसँग जोड्दै यस दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौँ,’ उनले भने।
उनले नेपाली सूचना प्रविधि उद्योगले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै स्वदेशमै विकास भएका प्रविधिको प्रयोग र बजार विस्तारमा यस्ता कार्यक्रमले सहयोग पुग्ने बताए।

प्रविधि, उद्यमशीलता र रोजगारीलाई जोड्ने मञ्च
नास-आईटीकी महासचिव श्रेया श्रेष्ठले नेपाललाई विश्वको प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने संस्थाको उद्देश्यअनुरूप एक्स्पो आयोजना गर्न लागिएको बताइन्।
उनका अनुसार विश्वमा विकसित भइरहेका पछिल्ला प्रविधि र नेपालमै विकास भएका प्रविधि, नेपाली कम्पनीका उत्पादन तथा सेवाबारे एउटै थलोबाट जानकारी दिने एक्स्पोको मुख्य उद्देश्य हो।
‘यो एक्स्पो प्रविधि प्रदर्शन गर्ने मञ्च मात्र नभई व्यवसाय, प्रविधि र प्रतिभालाई जोड्ने अवसर पनि हो। खरिदकर्ता, स्टार्टअप र विद्यार्थी सबैले आफ्ना लागि उपयोगी अवसर पहिचान गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो,’ उनले भनिन्।
उनले नेपालमा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारसँगै यस क्षेत्रमा रोजगारी तथा उद्यमशीलताको सम्भावना पनि बढ्दै गएको बताइन्। प्रविधिको विकास, प्रयोग, उत्पादन र जनशक्ति विकासका लागि एक्स्पो महत्वपूर्ण हुने उनको भनाइ छ।
श्रेष्ठका अनुसार विद्यार्थी तथा युवा पेसाकर्मीले नेपालमै सूचना प्रविधि क्षेत्रमा उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे जानकारी लिन सक्नेछन्। साथै, विभिन्न कम्पनीका उत्पादन तथा सेवाबारे बुझ्न र नयाँ व्यावसायिक सम्भावना पहिचान गर्न पनि एक्स्पो उपयोगी हुनेछ।
३० भन्दा बढी कम्पनी सहभागी हुने
एक्स्पोमा सूचना प्रविधिका छ ओटा प्रमुख क्षेत्रमा काम गरिरहेका ३० भन्दा बढी कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्नेछन्।
आयोजकका अनुसार साइबर सुरक्षा, वित्तीय प्रविधि तथा बैंकिङ, सफ्टवेयर सेवा तथा व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता (एआई) तथा सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रमा कार्यरत कम्पनी सहभागी हुनेछन्।
एक्स्पोमा बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारलाई नेपाली प्रविधि कम्पनीसँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ। यसले नेपाली कम्पनीलाई आफ्ना उत्पादन तथा सेवाका सम्भावित ग्राहक र व्यावसायिक साझेदार पहिचान गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ।
स्टार्टअपका लागि छुट्टै प्याभिलियन
यस वर्षको एक्स्पोमा नयाँ तथा प्रारम्भिक चरणका प्रविधि कम्पनीलाई लक्षित गरी स्टार्टअप प्याभिलियन थप गरिएको छ। युरोपेली संघ (ईयू) को सहयोगमा स्थापना गरिने उक्त प्याभिलियनले स्टार्टअपलाई आफ्ना नवीन विचार, उत्पादन र प्रविधिमा आधारित समाधान प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।
स्टार्टअप प्याभिलियनमार्फत नयाँ उद्यमीले सम्भावित लगानीकर्ता, ग्राहक तथा व्यावसायिक साझेदारसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न सक्नेछन्। यसले प्रारम्भिक चरणका कम्पनीलाई बजारमा प्रवेश गर्न र आफ्ना उत्पादनको पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपालको प्रविधि बजार र अन्तर्राष्ट्रिय विस्तारबारे छलफल हुने
एक्स्पोका क्रममा दुई ओटा विषयगत प्यानल छलफल आयोजना गरिनेछ। पहिलो दिन कूटनीतिक प्रतिनिधिहरूको सहभागितामा ‘नेपालदेखि विश्वसम्म’ (From Nepal to the World) विषयमा छलफल हुनेछ।
उक्त छलफलमा नेपाली सूचना प्रविधि कम्पनीका उत्पादन तथा सेवा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने सम्भावना, अवसर र चुनौतीबारे विचारविमर्श हुनेछ।
दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ (Building Nepal’s Domestic Tech Market) विषयमा प्यानल छलफल आयोजना गरिनेछ। यसमा स्वदेशी प्रविधिको प्रयोग विस्तार, नेपाली उत्पादनको बजार विकास र सरकारी तथा निजी क्षेत्रमा स्थानीय प्रविधिको उपयोग बढाउने विषयमा छलफल हुनेछ।
त्यस्तै, दुवै दिन सञ्चालन हुने पिच सत्रमा प्रविधि कम्पनी तथा स्टार्टअपहरूले आफ्ना उत्पादन, सेवा र नवीन समाधान प्रस्तुत गर्नेछन्।
पहिलो संस्करणमा २ हजार ५०० भन्दा बढी आगन्तुक
नास-आईटीले सन् २०२५ नोभेम्बरमा पहिलो पटक एक्स्पो आयोजना गरेको थियो। पहिलो संस्करणमा ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी भएका थिए भने २ हजार ५०० भन्दा बढी आगन्तुकले अवलोकन गरेका थिए।
पहिलो संस्करणबाट प्राप्त अनुभवका आधारमा यस वर्षको एक्स्पोलाई थप प्रभावकारी, व्यावसायिक सहकार्य केन्द्रित र अन्तरक्रियात्मक बनाउन लागिएको आयोजकले जनाएको छ।
एक्स्पोकी संयोजक तथा नास-आईटीकी कार्यसमिति सदस्य प्रार्थना शाक्यले कार्यक्रम सफल बनाउन प्रायोजक, साझेदार, प्रदर्शक तथा विभिन्न संस्थाको सहकार्य महत्वपूर्ण रहेको बताइन्।
उनले सबै पक्षको सहभागिताले नेपाली प्रविधि उद्योगको प्रवर्द्धन तथा नयाँ व्यावसायिक सम्भावनाको खोजीमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै एक्स्पोमा सहभागी हुन सबैलाई आग्रह गरिन्।
यस वर्षको एक्स्पोको शीर्ष प्रायोजक आकाशटेल रहेको छ। सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्टर एआई-एप्रिक्सा रहेका छन्। डिसहोम इन्टरनेट साझेदारका रूपमा जोडिएको छ भने किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा रहेका छन्।
मंसिर ५ र ६ गते एक्स्पो सञ्चालन हुने
आयोजकका अनुसार एक्स्पो मंसिर ५ र ६ गते (नोभेम्बर २१ र २२, २०२६) बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। एक्स्पो ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुनेछ।
एक्स्पोमा सहभागी हुन इच्छुक व्यक्ति तथा संस्थाले आयोजकले उपलब्ध गराएको अनलाइन दर्ता लिंक मार्फत नाम दर्ता गर्न सक्नेछन्।
नास-आईटी नेपालका सफ्टवेयर तथा सूचना प्रविधि सेवा प्रदायक कम्पनीहरूको गैरनाफामूलक संस्था हो। नेपाली प्रविधि उद्योगको विकास, अन्तर्राष्ट्रिय बजारमा विस्तार र नेपाललाई विश्वव्यापी प्रविधि केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

