
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो ।
प्राधिकरणका अनुसार आगामी मंसिर १ देखि साउन १५ सम्म विद्युत् आयात गर्न सकिनेछ । यस अवधिमा बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा आईएक्सबाट विद्युत् खरिद गर्न पाइनेछ ।
अनुमतिअनुसार कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत ३०० मेगावाट तथा न्यू नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनमार्फत ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमता भएका आयोजनाहरू राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएको बताएका छन् ।
यस लगायतका अवस्थालाई ध्यानमा राखेर आगामी हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको उनले बताए ।
गत वर्षको विद्युत् माग र उत्पादनको अवस्थालाई आधार मानेर गरिएको विश्लेषणअनुसार यस वर्ष पुस, माघ, फागुन र चैत गरी चार महिनासम्म आन्तरिक उत्पादनभन्दा विद्युत् माग बढी हुने अनुमान छ । त्यस अवधिमा माग व्यवस्थापनका लागि भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ ।
विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म निरन्तर विद्युत् आयात गर्नुपर्ने प्राधिकरणको अनुमान छ । त्यस्तै, उच्च माग हुने समयमा दैनिक ८०० देखि ९०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अवस्था आउन सक्ने आकलन गरिएको छ ।
पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्ने अनुमान छ । आगामी वैशाखदेखि नदीहरूमा पानीको बहाव क्रमशः बढ्दै जाने भएकाले आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने र आयात प्रतिस्थापन हुँदै विद्युत् निर्यात सुरु हुने प्राधिकरणको भनाइ छ ।
तीन आयोजनाबाट ५६ मेगावाट विद्युत् निर्यात गर्न अनुमति
प्राधिकरणले तीनवटा जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) मा बिक्री गर्न पनि अनुमति पाएको छ ।
प्राधिकरणले १ मंसिर २०८३ (१७ नोभेम्बर २०२६) देखि १५ साउन २०८४ (३१ जुलाई २०२७) सम्म उक्त विद्युत् निर्यात गर्न पाउनेछ ।

