Nepal Purbadhar

तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायी निराश, चीनसँग उच्चस्तरीय वार्ताको माग


सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानी पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा व्यवसायी चिन्तित बनेका छन्। लामो समयदेखि नाका अनिश्चित हुँदा व्यापार–व्यवसाय प्रभावित भएको भन्दै उद्योगी, व्यवसायी र स्थानीयवासीले सरकारसँग कूटनीतिक पहल गर्न माग गरेका छन्।

सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय अन्तरक्रियामा सहभागीले नाका नियमित सञ्चालनका लागि चीनसँग उच्चस्तरीय वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष बुद्धराज बस्नेतले नाका अनिश्चित हुँदा व्यवसायी निराश भएर पेसाबाटै पलायन हुनुपर्ने अवस्था आएको बताए। सरकारले उच्चस्तरीय पहल नगरे तातोपानी नाकाबाट व्यापार गर्न नसकिने उनको भनाइ छ।

व्यवसायीका अनुसार तातोपानीका लागि पठाइएका सामान नाकामा आइपुग्ने समयमा अचानक नाका बन्द हुने गरेको छ। विकल्पका रूपमा केरुङ नाका प्रयोग गर्दा पनि विभिन्न समस्या आउने र सामान अन्यत्रै मोड्नुपर्ने अवस्था रहेको नेपाल हिमालय सिमापार वाणिज्य सङ्घका उपाध्यक्ष भरत कार्कीले बताए।

कार्यक्रममा सहभागीले प्रधानमन्त्री, परराष्ट्रमन्त्री तथा चीनस्थित नेपाली राजदूतमार्फत प्रत्यक्ष कूटनीतिक संवाद अघि बढाउनुपर्ने र आवश्यक परे सरकारी प्रतिनिधिमण्डल चीन पठाउनुपर्ने सुझाव दिएका छन्।

भूकम्पपछि नियमित सञ्चालन हुन नसकेको नाकाको अनिश्चितताले व्यवसायी मात्र नभई राष्ट्रिय स्तरमै वस्तु आपूर्तिमा असर पार्ने नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले बताए। उनले नाका क्षेत्रमा पहिरो नियन्त्रण, सडक स्तरोन्नति र सरकार-सरकार (जिटुजी) तहमा वार्ता गर्न आग्रह गरे।

भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठले पनि नाका सञ्चालनका लागि पटकपटक सरकार र मन्त्रीहरूको ध्यानाकर्षण गराउँदा पनि अपेक्षित पहल हुन नसकेको बताए।

कार्यक्रममा सांसद पराजुलीले स्थानीय व्यवसायी तथा सरोकारवालाको समस्या सरकारसमक्ष पुर्‍याउन अन्तरक्रिया आयोजना गरिएको बताए। उनले तातोपानी नाका र लिपिङ क्षेत्रको स्थलगत अवलोकन गरेको उल्लेख गर्दै चीनले भूकम्पबाट क्षतिग्रस्त खासा क्षेत्रमा आधुनिक प्रविधियुक्त ‘स्मार्ट सिटी’ निर्माण गरिरहेको जानकारी दिए।


Read Previous

मन्त्रीश्रेष्ठले भेटे भारतीय राजदूत दलेला: नेपाल-भारत ऊर्जा सहकार्य विस्तारबारे छलफल

Read Next

नीतिगत सुधार र सुशासनले राजस्व संकलन बढेको अर्थमन्त्री वाग्लेको दाबी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar