Nepal Purbadhar

बाजुरामा सिँचाइ विस्तार हुँदै, खेतीयोग्य जमिनको २३ प्रतिशतमा पुग्यो सुविधा

फाइल तस्बिर।


बाजुरा। बाजुरामा सिँचाइ सुविधा विस्तार हुँदै गए पनि अझै ७७ प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन। जिल्लामा पछिल्लो एक वर्षमा ३ प्रतिशतले सिँचाइ सुविधा विस्तार भएसँगै कुल खेतीयोग्य जमिनको २३ प्रतिशत क्षेत्रफलमा सिँचाइ पुगेको छ।

कृषि ज्ञान केन्द्र बाजुराका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा साना सिँचाइ कार्यक्रममार्फत पोखरी तथा कुलो निर्माण गरिएपछि सिञ्चित क्षेत्रफल बढेको हो। यसअघि जिल्लाको करिब २० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिँचाइ सुविधा उपलब्ध थियो।

जिल्लामा २८ हजार १३५ हेक्टर खेतीयोग्य जमिन रहेकामा २६ हजार १६० हेक्टरमा खेती हुँदै आएको छ। तर, सिँचाइको पर्याप्त व्यवस्था नहुँदा अधिकांश किसान अझै आकाशे पानीको भरमा खेती गर्न बाध्य छन्। विशेषगरी वर्षायाममा मात्रै खेती गर्न सकिने र हिउँदमा जमिन बाँझै राख्नुपर्ने समस्या ग्रामीण क्षेत्रका किसानले भोग्दै आएका छन्।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टका अनुसार जिल्लाको अधिकांश भूभाग भिरालो भएकाले पाखो जमिनमा खेती गर्नुपर्ने बाध्यता छ। पछिल्लो समय सिँचाइ पोखरी र कुलो निर्माण हुन थालेपछि सिञ्चित क्षेत्रफल बढ्दै गएको उनले बताए।

उनका अनुसार गत आर्थिक वर्षमा कार्यालयमार्फत साना सिँचाइ कार्यक्रमअन्तर्गत ६१ ओटा पोखरी तथा कुलो निर्माण गरिएको थियो। चालु आर्थिक वर्षमा पनि सिँचाइ सुविधा विस्तारका लागि सुदूरपश्चिम प्रदेश सरकारले उक्त कार्यक्रमअन्तर्गत करिब ५५ लाख रुपैयाँ विनियोजन गरेको छ।

जिल्लाका नौ ओटा स्थानीय तहमध्ये बढी खेतीयोग्य जमिन रहेका बुढीगङ्गा, बडीमालिका, खप्तड छेडेदह र बुढीनन्दा क्षेत्रमा तुलनात्मक रूपमा बढी सिँचाइ सुविधा पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ। तर, जिल्लाको ठूलो हिस्सा अझै सिँचाइ सुविधाबाट वञ्चित रहेको प्रमुख विष्टको भनाइ छ।

सिँचाइ सुविधा विस्तारमा भौगोलिक विकटता, बजेट अभाव, पानीका स्रोतको सीमितता र निर्माण भएका संरचनाको नियमित मर्मतसम्भार नहुनु प्रमुख चुनौती बनेका छन्। कतिपय स्थानमा पानीको स्रोत उपलब्ध भए पनि खेतसम्म पानी पुर्‍याउन आवश्यक संरचना नहुँदा किसानले समस्या भोगिरहेका छन्।

जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय बाजुराका अनुसार गत आर्थिक वर्षमा जिल्लामा १०६ ओटा कुलो र ६०० मिटर तटबन्ध निर्माण गरिएको थियो। सिँचाइ संरचना विस्तार हुन थालेपछि केही क्षेत्रमा बाह्रै महिना खेती गर्न सकिने अवस्था सिर्जना हुँदै गएको कार्यालयले जनाएको छ।

सिँचाइ सुविधा पुगेका क्षेत्रमा तरकारी, धान, गहुँ, आलु तथा अन्य मौसमी र बेमौसमी बाली उत्पादन गर्न सहज भएको किसान बताउँछन्। बडीमालिका नगरपालिका-८ का किसान लालबहादुर ऐडीले सिँचाइ सुविधा उपलब्ध हुँदा खाद्यान्न उत्पादन बढ्नुका साथै किसानको आयआर्जनमा समेत सहयोग पुग्ने बताए।

त्यस्तै, खप्तड छेडेदह गाउँपालिका-३ का किसान वीरबहादुर बुढाले निर्माण भएका कतिपय कुलो तथा नहर बाढीपहिरोका कारण क्षतिग्रस्त हुने गरेको बताए। पानीको स्रोत भए पनि खेतसम्म पुर्‍याउने संरचना नहुँदा कतिपय किसानले त्यसको लाभ लिन नसकेको उनको भनाइ छ।

बाजुरामा कृषि उत्पादन वृद्धि र किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न सिँचाइ आयोजना निर्माण तथा विस्तारका काम भइरहेका छन्। तर, हालसम्म २३ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुग्नुले यस क्षेत्रमा अझै ठूलो लगानी र योजनाबद्ध काम आवश्यक रहेको देखाउँछ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले साना सिँचाइ आयोजना, कुलो, नहर तथा पाइपलाइन निर्माणसँगै पुराना संरचनाको मर्मतसम्भारलाई प्राथमिकता दिन सके कृषि उत्पादन र किसानको आम्दानी बढाउन महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।


Read Previous

नेपाल आएका भारतीय विदेश सचिव मिश्री र परराष्ट्रमन्त्री बीच भेटवार्ता

Read Next

नेपालमा स्वास्थ्य क्षेत्रको सहयोग विस्तार गर्न जापान इच्छुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar