
फाइल तस्बिर।
काठमाडौं। आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकाल दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सीसीआई)को पर्यटन समितिको संयोजक चयन भएका छन्।
माल्दिभ्समा मंगलबार सम्पन्न सार्क सीसीआईको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी दिएको हो।
संयोजक चयन भएपछि ढकालले दक्षिण एसियाको पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। उनले सार्क राष्ट्रबीच अन्तरक्षेत्रीय पर्यटन प्रवर्धन, साझा पर्यटन सर्किट तथा प्याकेज निर्माण र धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउनुपर्ने बताए।
उनले सार्क राष्ट्रका प्रमुख शहरबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार, पर्यटन पूर्वाधारमा लगानी वृद्धि र होटल तथा आतिथ्य ब्रान्डको क्षेत्रीय विस्तारमा जोड दिएका छन्। यसका लागि सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

