Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

म्याग्देमा दश शय्याको अस्पताल बन्दै


तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो ।

विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्र गतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । भवन निर्माणको ठेक्का ऋषि शक्ति\होम निर्माण जेभी कम्पनीले पाएको छ ।

उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुल लागत १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रुपैयाँ रहेकामा बोलपत्रमार्फत सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको हो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहनेछ । अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ । ‘मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुआतसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौँ,’ अध्यक्ष श्रेष्ठले भने ।


Read Previous

भूकम्पको सात वर्षपछि उच्च अदालत पोखराको भवन निर्माण सुरु

Read Next

गोल्यान समूहले लगानी गरेको १० मेगावाट सौर्य विद्युत प्रणालीमा जोडिँदै

Leave a Reply

Your email address will not be published.