Nepal Purbadhar

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि शुभम् पावरको आइपिओ खुला


काठमाडाैं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १ सय अङ्कित दरमा ५८ हजार ५८ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको हो ।

कम्पनीले सर्वसाधारणमा निष्कासन गरिने ४ लाख कित्ता र यसअघि स्थानीयमा निष्काशन गरी बिक्री नभएको १ लाख ८० हजार ५८० कित्तासहित कूल ५ लाख ८० हजार ५८० कित्ताको १० प्रतिशतले हुने ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख गरेको छ ।

निष्कासित शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले यही पुस २० गतेसम्म अधिकतम ५ हजार कित्तासम्म शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएन्पी बीबी प्लस आईएस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले सङ्खुवासभाको चैनपुर नगरपालिका–९ स्थित पिलुवा खोलामा ‘पिलुवा खोला साना जलविद्युत् आयोजना’ बाट २०६८ साउन १ गते देखि ९ सय ९० किलोवाट क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ ।

कसरी दिने आवेदन ?

वैदेशिक रोजगारिमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा ‘मेरो शेयर’मार्फत शेयर खदिरको आवेदन दिन सकिन्छ ।

विदेशमा रोजगारी गरिरहेका नेपालीले विप्रेषण (रेमिट्यान्स)बचत खाता खोली त्यसमा दर्ता गरिएको सिआरएन नम्बर उल्लेख गरेर अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरी शेयर खरिद आवेदन दिन सकिने सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

त्यसमा आफ्नो रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रूपैयाँ आफू रोजगारमा रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने अथवा सार्वजनिक निष्काशनको अन्तिम मितिभित्र रोजगारमा रहेको देशबाट रकम जम्मा गरी आवेदन दिन सकिने व्यवस्था गरेको धितोपत्र बोर्डले जनाएको छ ।


Read Previous

देशभरका ७ लाख आवेदकले चालक अनुमतिपत्र पाउन बाँकी

Read Next

बाँकेकाे ग्रामीण भेगमा खाना पकाउन अझै गुइँठाकाे भर