Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

कालीगण्डकी काेरिडोरअन्तर्गत पिपलडाँडा-गैंडाकोट सडक खण्डकाे निर्माण सुरु


पाल्पा (रासस) : स्थानीय विवादका कारण अवरुद्ध कालीगण्डकी काेरिडाेर सडक आयोजना अन्तर्गत पर्ने पिपलडाँडा-गैंडाकोट सडक खण्ड निर्माण सुरु भएकाे छ । सडक आयोजना अन्तर्गत पाल्पाकाे रामपुर  रामपुर नगरपालिका–५ स्थित मटेरी ठूलोटारमा स्थानीयको विवादले अवरुद्ध याे सडक खण्ड निर्माणकाे काम ३ वर्षपछि पुनः अघि बढेकाे हाे ।

रामपुर नगरपालिकाको पहलमा अहिले सडक निर्माणको काम सुरु गरिएको कालीगण्डकी काेरिडोर सडक आयोजनाका इन्जिनियर विष्णु भट्टराईले बताए । उनका अनुसार  नगरपालिकाले अवरोध हटाउने र आयोजना सञ्चालन गर्न सहयोग गर्ने जिम्मा लिएसँगै विवाद समाधान भइ अवरुद्ध सडक निर्माण थालिएकाे हाे ।

राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको सो सडकसँग जोडिएका स्थानीयको विवादका कारण सडक निर्माणले गति लिन सकेको थिएन । सार्वजनिक जग्गा संरक्षण पक्ष र सो क्षेत्रमा घर जग्गा पर्ने पक्षबीच सडक निर्माणका विषयमा लामो समयदेखि विवाद बल्झिरहेकाे थियाे । पिपलडाँडा-गैंडाकोट सडक आयोजनाअन्तर्गत विवादले रोकिएको मटेरी ठूलोटार क्षेत्रमा पर्ने ४५० मिटर लामाे ११ मिटर चौडाइ कालोपत्रसहितकाे सडक निर्माण हुने भट्टराईले बताए ।

स्थानीयको अवरोधका कारण रोकिएको सडक निर्माणका लागि स्थानीयबीच आपसी समझदारीमा काम गर्ने भनिए पनि त्यो हुन नसकेपछि नगरपालिकाको सहयोगमा करिडोर सडक योजनाले डिपिआरअनुसार नै काम गर्न सुरु गरेको पनि उनले बताए । रामपुर नगरपालिका-२ भलायटारस्थित सडक निर्माण हुन सकेको छैन । सो सडकखण्डमा कालीगण्डकी काेरिडोर सडक आयोजनाको डिपिआरअनुसार नै निर्माण हुने उनले बताए ।

वर्षायाममा हिलो र हिउँदमा धुलाम्य सडकमा सर्वसाधारणले कष्टकर यात्रा गर्नुपर्ने समस्या रहेको स्थानीय युवा दीपेन्द्र भट्टराईले बताए । “पानी परेपछि बाटो हिलाम्य भएर सडक वारपार गर्र्नै नसक्ने अवस्था थियो, मोटरसाइकल, स्कुटरबाट लडेर कतिपय घाइतेसमेत भएका छन्, विवादले रोकिएको सडक अहिले निर्माणको कामले स्थानीय उत्साहित भएका छन्”, उनले भने ।

सडकसँग जोडिएका स्थानीयले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेपछि आयोजनाको काम अगाडि बढ्न सकेन । रिट दायर पक्ष र रामपुर नगरपालिकाबीच छलफल हुँदा एक/दुई मिटर तलमाथि मिलाएर काम गर्ने सहमती भएपछि रिट दायर पक्षले निवेदन निकालेर काम गर्न खोज्दा सार्वजनिक जग्गा संरक्षणको पक्षमा रहेका स्थानीयले चउर मिच्न नपाइने भन्दै काम रोकिन पुगेको रामपुर–५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले बताए  ।

“सहमतिपश्चात् सडकको उत्तरतर्फको भागमा (बस्ती बसोबास जोडिएको) नाली खन्ने काम गरियो, दक्षिणतर्फको भागमा (सार्वजनिक चउर) खन्ने क्रममा स्थानीयबाट चउर मिचिने भयो भन्दै अवरोध भएपछि काम बन्द गर्नुपर्यो, पहिलाको सहमतिअनुसार काम नभएपछि मापदण्डअनुसार गत मङ्सिर २६ गतेदेखि सडक निर्माणको काम सुरु गरिएको छ”, वडाध्यक्ष पोखरेलले भने ।

नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्दै राष्ट्रिय गौरवको आयोजनाबाट सुरु गर्ने र त्यसपश्चात् नगर गौरवका योजना, वडा गौरवमा योजना पर्ने सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

“स्थानीयको विवादले लामो समयसम्म काम हुन सकेन, यात्रुले सास्ती खेप्नु परेको छ”, उनले भने, “नगरभित्रका सञ्चालित राष्ट्रिय गौरवका आयोजना, नगर गौरव र वडा गौरवका आयोजनामा परेका सार्वजनिक जग्गामा बनेका संरचना हटाएर काम गरिनेछ ।”

योजना सञ्चालनमा बाधा पुर्याउने गरी सार्वजनिक स्थानमा निर्माण भएका अवैध संरचनासमेत हटाउने नगर प्रमुख थापाले बताए । विवादले रोकिएको सडकमा यसभन्दा अघि पटकपटक स्थानीय तथा यात्रुले काम सुचारु गर्न स्थानीय सरकार, कालीगण्डकी करिडोर सडक योजनासमक्ष आग्रह गर्दै आएका थिए ।

केही व्यक्तिको अवरोधले गर्दा रामपुर क्षेत्रमा अधिकांश स्थानमा कालीगण्डकी काेरिडोरका काम सम्पन्न भइसक्दा मटेरी ठूलोटार र भलायटार क्षेत्रमा अलपत्र रहँदा सडक नै कुरुप बनेको छ । कालीगण्डकी करिडोर सडक निर्माणको योजनाले रामपुर क्षेत्रमा विकासको गति अगाडि बढाएको छ ।


Read Previous

प्राधिकरणले विद्युत नकिन्दा गुम्यो २ अर्ब, लगानीकर्ता भन्छन्,‘ब्याज तिर्न नसकेर सडकमा आउन लाग्यौं’

Read Next

चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालियाे 

Leave a Reply

Your email address will not be published.