Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

पूर्वी तराई जोड्ने दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक स्तरोन्नति सुरु


खोटाङ । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट खानीडाँडा–रेग्मीटार पुग्ने सडक  स्तरोन्नति थालिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा हुँदै रेग्मीटारस्थित सगरमाथा राष्ट्रिय राजमार्गमा जोडिने सडकको कामले अहिले तीव्रता पाएको हो ।

सडक निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ४० लाख रुपैयाँ उपलब्ध गराएको छ भने उपभोक्ता समितिले ६ लाख ७९ हजार सात सय २१ रुपैयाँ बराबरको श्रमदान उपलब्ध गराएको छ ।

तत्कालीन जिल्ला विकास समितिले ट्रयाक खोलेको यो सडक नगरपालिकाले गौरवको आयोजनामा राखेको छ । सडकको लम्बाई साढे ३१ किलोमिटर छ ।
नगरप्रमुख तिर्थराज भट्टराईले तत्कालका लागि राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायात सञ्चालन गर्न सकिने सम्भावना रहेको बताए ।

तत्कालिन जिल्ला विकास समितिले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरमाथा राजमार्ग, दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभीरसम्म सिधा ‘ट्रयाक’ खोलेको थियो ।

घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको नगरप्रमुख भट्टराईको भनाइ छ । ‘घर्तीभिरको चट्टान फोडेर ट्रयाक जोड्ने प्रयास जारी छ’, उनले भने, ‘ट्रयाक नजोडिँदा हाल दिक्तेलबाट महुरे, बुइँपा, राजापानी हुँदै घुमेर रेग्मीटार पुग्नुपर्ने बाध्यता छ ।’ उक्त सडक जोड्न सकिए दिक्तेलबाट डेढ घण्टामा रेग्मीटार पुग्न सकिनेछ ।

दिक्तेल–महुरेबीचको २० किलोमिटर सडक कालोपत्र भइसकेको छ भने महुरे–राजापानी–रेग्मीटारअन्तर्गत पर्ने २९ किलोमिटर सडकमा कालोपत्र भइरहेको छ । हाल स्तरोन्नति सुरु गरिएको दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडकखण्ड दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ ।

नगरप्रमुख नवराज भट्टराईले अहिले प्राप्त भएकै बजेटबाट काम गर्न उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । अपुग बजेटका लागि फेरि बजेट व्यवस्थापन गर्ने उनको भनाइ छ ।

सडक स्तरोन्नति भई नियमित यातायात सञ्चालन भए कम मूल्यमै खाद्यान्न, हार्डवेयर, इन्धनलगायत उपभोग्य वस्तु ढुवानी गर्न सकिने वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।

दिक्तेल–खानीडाँडा सडक भने करिब वर्ष दिनदेखि अलपत्र अवस्थामा छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार रुपैयाँ लगानीमा कालोपत्रको काम थालिए पनि ठेकेदारको लापरबाहीले अलपत्र परेको हो ।

ठेकेदार कम्पनी याक्थुङहाङ/साप/सिरुवा जेभीले २०७६ चैत ७ भित्र सम्पन्न गर्नेगरी ठेक्का पाएको थियो । त्यसपछि समयावधि बढाएर २०७८ वैशाख २९ गते बनाइएको थियो ।

अलपत्र अवस्थामा रहेको दिक्तेल–खानीडाँडा सडक कालोपत्रको भौतिक प्रगति ४८ प्रतिशत र वित्तीय प्रगति ४७ दशमलव ७६ प्रतिशत मात्रै पुगेको छ । अलपत्र सडक तत्काल सम्पन्न गर्न ठेकेदार कम्पनीलाई लिखित रुपमै निर्देशन दिइएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।


Read Previous

प्राधिकरणले चिलिमेको विद्युत पनि भारतीय बजारमा निर्यात गर्न थाल्याे

Read Next

उद्योग परिसंघ अध्यक्ष र आईएमएफ नेपाल प्रतिनिधिबीच भेटवार्ता

Leave a Reply

Your email address will not be published.