
काठमाडौँ । कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण भइरहेको जालपादेवी केबलकार एक महिनाभित्रै व्यावसायिक सञ्चालनमा आउने तयारीमा जुटेको छ।
सुदूरपश्चिम प्रदेशमा पर्यटन पूर्वाधार विकास गर्ने उद्देश्यसहित निर्माण भइरहेको आयोजनाको भौतिक संरचना निर्माण अन्तिम चरणमा पुगेको र सञ्चालनको तयारी भइरहेको आयोजना पक्षले जनाएको छ।
आयोजना पक्षका अनुसार केबलकारलाई केवल यातायातको माध्यममा सीमित नराखी एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना छ। त्यसका लागि आयोजनाको माथिल्लो र तल्लो स्टेसनका अधिकांश संरचना तयार भइसकेका छन्।
गुरुयोजनाअनुसार आयोजनास्थलमा स्तरीय होटल, रिसोर्ट, क्यासिनो, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, पदमार्ग र धार्मिक आस्थाको केन्द्र जालपादेवी मन्दिरलगायत संरचना पनि क्रमशः निर्माण भइरहेका छन्।

आयोजना पक्षले सहायक पर्यटकीय संरचनासमेत विकास गरेर पर्यटकको बसाइ अवधि लम्ब्याउने लक्ष्य राखेको छ। यसबाट चिसापानी र राजकाँडा क्षेत्रलाई एकदिने भ्रमणको गन्तव्यभन्दा माथि उठाएर पर्यटकलाई कम्तीमा एक दिन बस्न सक्ने पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने अपेक्षा गरिएको छ।
कर्णाली पुल र चिसापानीको प्राकृतिक सौन्दर्य अवलोकन गर्न अहिले पनि आन्तरिक तथा भारतीय पर्यटक आउने गरेका छन्। केबलकार निर्माणको खबरसँगै चिसापानी र राजकाँडा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको आयोजना पक्षको भनाइ छ।
केबलकार सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटन गतिविधि थप विस्तार हुने र पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। त्यसले स्थानीय यातायात, होटल तथा रेस्टुरेन्ट, साना व्यवसाय र कृषि उपजको बजार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा छ।

आयोजनाले स्थानीय युवाका लागि रोजगारी सिर्जना गर्ने, वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता घटाउने र स्थानीयको आयस्तर उकास्न योगदान पुर्याउने लक्ष्य राखेको छ। साथै, पर्यटन गतिविधि विस्तारसँगै सरकारी राजस्वमा समेत योगदान पुग्ने आयोजना पक्षको विश्वास छ।
आयोजना पक्षले यसलाई देशका सातै प्रदेशमा मौलिक पर्यटन पूर्वाधार निर्माण गर्ने अभियानअन्तर्गत सुदूरपश्चिममा सुरु गरिएको महत्वपूर्ण परियोजनाका रूपमा व्याख्या गरेको छ।

आयोजना निर्माणमा स्थानीय बासिन्दा, स्थानीय तथा प्रदेश सरकार, संघीय सरकार, सरोकारवाला निकाय, स्थानीय साझेदार सूर्य थापा तथा इन्जिनियर र परियोजना टोलीको सहयोग रहेको आयोजना पक्षले जनाएको छ।
प्रचुर पर्यटकीय सम्भावना भएर पनि ठूला पर्यटन पूर्वाधारको अभाव झेल्दै आएको सुदूरपश्चिमका लागि जालपादेवी केबलकार महत्वपूर्ण पर्यटन पूर्वाधार बन्ने अपेक्षा गरिएको छ।

