
राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिकाले नगरवासीलाई सहज यातायात सेवा उपलब्ध गराउने उद्देश्यले करोडौँ रुपैयाँ खर्चेर खरिद गरेका नगरबस सञ्चालन नहुँदा जीर्ण बन्दै गएका छन्। आर्थिक वर्ष २०७५/७६ मा खरिद गरिएका ७ ओटा बस लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन्।
उपमहानगरपालिकाले ४१ सिट क्षमताका ४ ओटा र ३६ सिट क्षमताका ३ ओटा बस खरिद गर्न ३ करोड ५८ लाख ११ हजार ४१५ रुपैयाँ खर्च गरेको थियो। तर, खरिद गरेको आठ वर्ष नपुग्दै ती बस प्रयोगविहीन अवस्थामा पुगेका नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए।
उनका अनुसार विशेष अनुदानको रकमबाट खरिद गरिएका बस सुरुमा उपमहानगरपालिका आफैँले महिला सहचालक राखेर सञ्चालन गरेको थियो। तर, सञ्चालन खर्च धान्न कठिन हुने देखिएपछि बस सेवा निजी क्षेत्रलाई दिने निर्णय गरिएको थियो।
त्यसपछि उपमहानगरपालिकाले सात ओटा नगरबस सञ्चालन र नेपालगञ्ज बसपार्क व्यवस्थापनका लागि ठेक्का आह्वान गरेको थियो। सात ओटा बस सञ्चालनका लागि वार्षिक ५० लाख रुपैयाँ र बसपार्कको पार्किङ शुल्कका लागि ५१ लाख रुपैयाँ न्यूनतम मूल्य तोकिएको थियो।
ठेक्का प्रक्रियामा शिवशक्ति जनरल अर्डर सप्लायर्सले वार्षिक १ करोड ३७ लाख ५१ हजार रुपैयाँमा ठेक्का स्वीकार गरेको थियो। तर, बस सञ्चालन गर्दा घाटा भएको भन्दै ठेकेदार कम्पनीले बसहरू बसपार्कमै थन्क्याएको प्रवक्ता रिजालले बताए।
अध्ययन समिति बन्यो, प्रतिवेदन अझै आएन
तीन वर्षदेखि थन्क्याइएका नगरबस पुनः सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्न उपमहानगरपालिकाको कार्यपालिका बोर्डले वडा नम्बर ४ का वडाध्यक्ष गोपाल पुनको संयोजकत्वमा समिति गठन गरेको थियो। तर, समितिको म्याद सकिए पनि हालसम्म प्रतिवेदन बुझाइएको छैन।
समितिका संयोजक पुनले घरायसी कामका कारण निर्धारित समयमा प्रतिवेदन बुझाउन नसकिएको बताए। समितिको म्याद थप नभएकाले थप काम गर्न नसकिएको उनको भनाइ छ।
लामो समयदेखि प्रयोगविहीन रहेका बस अहिले सामान्य अवस्थामा सञ्चालन गर्न सकिने स्थितिमा नरहेको पुनले बताए। बस पुनः सञ्चालनयोग्य बनाउन लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
“लामो समयदेखि थन्क्याएर राखिएका बस अब सञ्चालन हुने अवस्थामा ल्याउनै लाखौँ रुपैयाँ खर्च हुने देखिएको छ,” पुनले भने, “नगरवासीलाई सुविधा दिन सञ्चालन गर्ने भनिएका नगरबस सेवाभन्दा बढी प्रचारबाजी गरियो। बस सञ्चालनका लागि छुट्टै व्यवस्थापनको खाँचो छ।”
सार्वजनिक रकम खर्चियो, नागरिकले पाएनन् सेवा
नगरवासीलाई सहज यातायात सेवा उपलब्ध गराउने र लक्षित वर्गलाई लाभ पुर्याउने उद्देश्यले खरिद गरिएका बस सञ्चालनमा आउन नसक्दा सार्वजनिक रकमको उपयोगितामाथि प्रश्न उठेको छ। बस खरिदमा ठूलो रकम खर्च भए पनि नागरिकले अपेक्षित सेवा पाउन नसकेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्।
नागरिक सरोकार मञ्चका संयोजक कृष्णप्रसाद श्रेष्ठले विपन्न वर्गका लागि आएको अनुदानबाट खरिद गरिएका बस थन्क्याएर राख्नु सहरकै प्रतिष्ठामा आँच आउने विषय भएको बताए।
नगरबस सञ्चालनको स्पष्ट व्यवस्थापन योजना नहुँदा करोडौँ रुपैयाँ खर्च गरेर खरिद गरिएका सवारीसाधन उपयोगविहीन बनेका छन्। बस पुनः सञ्चालन गर्ने वा अन्य विकल्प अपनाउने भन्ने विषयमा उपमहानगरपालिकाले ठोस निर्णय गर्न नसक्दा सार्वजनिक सम्पत्ति थप जीर्ण हुँदै जाने जोखिम बढेको छ।

