Nepal Purbadhar

धार्चेबाहेक सबै क्षेत्रमा विद्युत् आपूर्ति पुनः सञ्चालन, खोर्लाबेंसीमा आजै पुर्‍याउने प्रयास


काठमाडौं। बुढीगण्डकी र यसको सहायक नदी स्यार खोलामा आएको बाढीबाट क्षतिग्रस्त विद्युत् प्रणालीको पुनःस्थापना तीव्र पारिएको छ। बाढीका कारण अवरुद्ध विद्युत् आपूर्ति धार्चे गाउँपालिका बाहेकका सबै क्षेत्रमा पुनः सञ्चालनमा आएको छ भने धार्चेमा पनि मंगलबार बिहानदेखि मर्मत तथा पुनःस्थापनाको काम सुरू भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार खोर्लाबेंसीदेखि माथिल्लो क्षेत्रमा सडक पहुँच नहुँदा र विद्युत् लाइनमा पूर्ण क्षति पुगेकाले पुनःस्थापनामा कठिनाइ भइरहेको छ। उक्त क्षेत्रमा जतिसक्दो छिटो विद्युत् पुर्‍याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ। खोर्लाबेंसीसम्म मंगलबार नै विद्युत् आपूर्ति पुनः सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार बाढीबाट क्षति पुगेका विद्युत् प्रणालीको मर्मत तथा पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण आरूघाट वितरण केन्द्रले पनि धार्चे गाउँपालिकामा बिहानैदेखि पुनःस्थापनाको काम सुरू भएको जनाएको छ।

यसअघि बाढीबाट प्रभावित आरूघाट क्षेत्रका विभिन्न स्थानमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन शाक्यका अनुसार बाढीले विद्युत् सेवा अवरुद्ध बनाएलगत्तै प्राधिकरणले मर्मतको काम थालेको थियो। करिब १० घण्टामै गोरखाको भीमसेन थापा गाउँपालिका–२, ३ र ४ मा विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो।

त्यसैगरी, आरूघाट बजारसहित आरूघाट गाउँपालिकाको डाँडागाउँ ब्रान्च र आरुपोखरी ब्रान्चमा पनि विद्युत् आपूर्ति पुनः सञ्चालनमा आइसकेको छ। मन्त्रालयले बाढी प्रभावित सबै क्षेत्रमा यसै हप्ताभित्र विद्युत् सेवा पुनः सञ्चालन गर्ने लक्ष्य राखेको छ।

विद्युत् वितरण प्रणालीदेखि जलविद्युत् आयोजनासम्म क्षति

बाढीले गोरखा र धादिङका विभिन्न स्थानमा विद्युत् वितरण प्रणाली तथा जलविद्युत् आयोजनाहरूमा क्षति पुर्‍याएको छ। ऊर्जा मन्त्रालयका अनुसार बुढीगण्डकी, टाइम्स इनर्जी प्रालि (३४१ मेगावाट), दोभान खोला (२४.५ मेगावाट), यारु खोला (३०.५९ मेगावाट) र माछा खोला (१६ मेगावाट) लगायतका जलविद्युत् आयोजनामा क्षति पुगेको छ।

बाढीका कारण आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण तथा सामग्री, बेलिब्रिज, पहुँच सडक र आयोजना स्थलसम्म पुग्ने पुलमा क्षति भएको मन्त्रालयले जनाएको छ। यसले विद्युत् सेवा पुनःस्थापना र आयोजनासम्बन्धी निर्माण कार्यमा चुनौती थपेको छ।

गोरखाको धार्चे गाउँपालिकाका विभिन्न स्थानमा ७० भन्दा बढी उच्च भोल्टेजका पोलमा क्षति पुगेको छ। सोती, आर्खेत तथा आरूघाट बजार क्षेत्रमा विद्युत् वितरण लाइनका पोलहरूमा समेत क्षति भएको छ। त्यस्तै, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ स्थित स्याउली बजार क्षेत्रमा न्यून भोल्टेजका ६ ओटा पोलमा क्षति पुगेको मन्त्रालयले जनाएको छ।

विद्युत् वितरण प्रणालीमा व्यापक क्षति पुगेपछि प्राधिकरणले प्रभावित क्षेत्रमा मर्मत तथा पुनःस्थापनाको कामलाई निरन्तरता दिएको छ। सडक पहुँचको अभाव र विद्युत् लाइन पूर्ण रूपमा क्षतिग्रस्त भएका स्थानमा भने सेवा पुनः सञ्चालन गर्न थप समय लाग्ने देखिएको छ।


Read Previous

चाडपर्वमा यात्रा सहज बनाउन सडक मर्मत तीव्र, बागलुङको गलकोट-ताराखोला सडक पनि सञ्चालनमा

Read Next

भरतपुरमा भूमिगत विद्युतीकरण ९५ प्रतिशत पूरा, ४६० ग्राहकमा जोडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar