
काठमाडौं। बाढी, पहिरो र वर्षाका कारण क्षतिग्रस्त सडक मर्मत तथा अवरुद्ध सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ। चाडपर्वमा यात्रुलाई सहज आवतजावतको व्यवस्था गर्न चितवनमा राष्ट्रिय राजमार्गसहित विभिन्न सडकको मर्मत भइरहेको छ भने बागलुङको अवरुद्ध गलकोट-ताराखोला सडक दुई सातापछि अस्थायी रूपमा सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकमा मर्मतको कामलाई तीव्रता दिएको छ। वर्षायाममा बाढी, पहिरो र पानीको बहावका कारण सडकमा खाल्डाखुल्डी पर्ने तथा विभिन्न स्थानमा सडक भत्किने समस्या बढेपछि मर्मतलाई प्राथमिकता दिइएको हो।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार नारायणगढ-मुग्लिन, नारायणगढ-लोथर, भरतपुर-माडी र भरतपुर-मेघौली सडकखण्डमा नियमित मर्मत भइरहेको छ। त्यस्तै, नवलपुर-पाल्पा-कालीगण्डकी करिडोरमा पनि मर्मतको काम जारी छ। यी सडकका धेरै स्थानमा मर्मत सम्पन्न भइसकेको उनले जानकारी दिए।
आचार्यले सडक मर्मत नियमित प्रक्रिया भए पनि यस वर्ष चाडपर्वलाई ध्यानमा राखेर कामलाई थप तीव्रता दिइएको बताए। यात्रुलाई सहज र सुरक्षित रूपमा आवतजावत गर्न सक्ने वातावरण बनाउनु कार्यालयको प्राथमिकता रहेको उनको भनाइ छ।
कार्यालयले आफ्नै जनशक्ति परिचालन गरी ‘इमल्सन प्याच’ र ‘रेक्टिफिक्स प्याच’ विधिबाट सडकका खाल्डाखुल्डी पुर्ने काम गरिरहेको छ। हिउँदमा तयार पारिएको रेक्टिफिक्स प्रयोग गर्नुका साथै आवश्यकताअनुसार इमल्सन प्याच प्रविधि अपनाएर सडक मर्मत भइरहेको छ।
सडकको क्षति न्यूनीकरण गर्न क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन सञ्चालन नगर्न पनि आचार्यले आग्रह गरेका छन्। उनका अनुसार सडकको क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन र वर्षायाममा पानीको बहावका कारण सडकमा क्षति पुग्ने गरेको छ।
यता, बागलुङको गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक पनि दुई सातापछि अस्थायी रूपमा सञ्चालनमा आएको छ। दरमखोलामा आएको बाढीले सडकका विभिन्न भागमा क्षति पुर्याएपछि गत असोज ११ गतेदेखि सडक अवरुद्ध भएको थियो।
गलकोट र ताराखोलाको सिमाना गाईघाट झरना नजिक सडकको ट्र्याक बगाएपछि यातायात पूर्ण रूपमा अवरुद्ध बनेको थियो। सडक अवरुद्ध हुँदा दुवै क्षेत्रबीचको यातायात सम्पर्क टुट्नुका साथै स्थानीयवासीलाई आवतजावत गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको थियो।
ताराखोला गाउँपालिका अध्यक्ष धनबहादुर विकका अनुसार क्षतिग्रस्त सडकमा अस्थायी व्यवस्था गरेर यातायात सञ्चालनमा ल्याइएको हो। सडक सञ्चालनमा आएसँगै गलकोट र ताराखोलाबीच आवतजावत गर्ने स्थानीयवासी, यात्रु तथा सवारीसाधनलाई सहज भएको छ।
वर्षायाममा बाढी, पहिरो र वर्षाका कारण क्षतिग्रस्त सडकले यात्रु तथा स्थानीयवासीलाई सास्ती दिँदै आएको छ। चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले सडक मर्मत र अवरुद्ध सडकको पुनःसञ्चालनले आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

