Nepal Purbadhar

बुढीगण्डकीमा भीषण बाढी : माछिखोला बजारमा ठूलो क्षति, केरौंजा जाने झोलुङ्गे पुल बगायो


गोरखा । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको ठूलो बाढीले गोरखाको माछिखोला बजारसहित आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले केरौंजा जाने झोलुङ्गे पुल बगाएको छ भने सल्लेरी र जगत बजारसमेत प्रभावित भएका छन्।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा शनिबार राति सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। स्थानीयका अनुसार नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले जोखिम अझै कायम छ।

बुढीगण्डकीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार तथा आसपासका जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाका अनुसार आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको थियो। बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार र जोखिमयुक्त स्थानमा नबस्न उनले स्थानीयलाई आग्रह गरेका छन्।

नदी थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने जोखिम रहेकाले बुढीगण्डकीको तल्लो तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आवश्यक देखिएको छ।


Read Previous

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

Read Next

बूढीगण्डकी बाढीको वितण्डा : चुमनुब्रीका ३५ घर बगायो, बस्तीहरूमा व्यापक क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar