Nepal Purbadhar

हुलाकलाई ‘सरकारी कुरियर सेवा’ बनाउने सरकारको योजना, पाँच व्यक्तिका तस्बिर अंकित टिकट जारी


काठमाडौं। सरकारले हुलाक सेवालाई आधुनिक, प्रभावकारी र नागरिकमैत्री बनाउँदै ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्ने योजना अघि बढाएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उक्त योजना प्रभावकारी रूपमा कार्यान्वयन हुँदै गएको बताएका छन् ।

हुलाक सेवा विभागले १५२औँ विश्व हुलाक दिवसका अवसरमा आयोजना गरेको फिलाटेलिक प्रदर्शनी कार्यक्रममा मन्त्री तिमिल्सिनाले बदलिँदो समय र नागरिकको आवश्यकताअनुसार हुलाक सेवालाई पुनर्संरचना गरी आम नागरिकको पहुँचमा पुर्‍याउन सरकार प्रतिबद्ध रहेको बताए ।

हुलाक सेवाको ऐतिहासिक महत्त्व कायम राख्दै यसलाई आधुनिक जीवनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले हुलाक सेवालाई इतिहासमा सीमित नराखी भविष्यको आवश्यकताअनुसार जीवनोपयोगी र नागरिक केन्द्रित बनाउनुपर्ने बताए ।

उनले आधुनिक प्रविधिको विकाससँगै नागरिकका आवश्यकता र सेवा प्राप्त गर्ने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै देशभर फैलिएको हुलाक सञ्जाललाई सरकारी सेवा तथा सामग्री नागरिकको घरदैलोसम्म पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा विकास गर्न सकिने बताए ।

सरकारले हुलाक सेवालाई पुनर्संरचना गरी नागरिकलाई सहज, छरितो र भरपर्दो सेवा उपलब्ध गराउने योजना कार्यान्वयन गरिरहेको उल्लेख गर्दै मन्त्री तिमिल्सिनाले सुधारका काम परिणाममुखी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका व्यक्तित्वदेखि विश्व प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका व्यक्तित्वसम्मको योगदानलाई सम्मान गर्दै पाँच व्यक्तित्वका तस्बिर अंकित नयाँ हुलाक टिकट जारी गरिएको छ ।

हुलाक सेवा विभागले नेपाल एकीकरण तथा राष्ट्र निर्माणमा योगदान पुर्‍याएका बिसे नगर्ची र वाङ्गे सार्की, प्रथम विश्वयुद्धमा भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापामगर र कर्णबहादुर रानामगर तथा टेलिभिजन आविष्कार भएको एक सय वर्षको अवसरमा आविष्कारक जोन लोगी बेयर्डको तस्बिर अंकित टिकट प्रचलनमा ल्याएको हो ।

विभागका अनुसार ती प्रत्येक टिकटको मूल्य १० रुपैयाँ छ । कार्यक्रममा सञ्चारमन्त्री तिमिल्सिनाले नयाँ हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेका थिए ।

सोही अवसरमा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बिसे नगर्ची र वाङ्गे सार्कीको तस्बिर अंकित टिकट जारी हुनुले दलित समुदायको ऐतिहासिक योगदानलाई राज्यले सम्मान गरेको बताए । सूचना प्रविधिको तीव्र विकासका बाबजुद हुलाक सेवाको उपादेयता कायम रहेको उल्लेख गर्दै उनले यसलाई आधुनिक कुरियर सेवाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

सञ्चारसचिव राजेन्द्रकुमार पौडेलले परिवर्तित परिस्थितिमा हुलाक सेवालाई नागरिक सेवा विस्तारको प्रभावकारी माध्यम बनाउनुपर्ने बताए । देशभरका पालिका तहसम्म फैलिएको हुलाक सञ्जालको उपयोग गरेर सरकारी कुरियर सेवामार्फत नागरिकका घरघरमा सेवा पुर्‍याउन सकिने उनको भनाइ थियो ।

हुलाक सेवालाई आधुनिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउन निजी क्षेत्रसँग सहकार्य र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको सचिव पौडेलले बताए । सरकारी संयन्त्रको देशव्यापी पहुँचलाई प्रभावकारी रूपमा उपयोग गर्न सके नागरिकलाई थप सहज र भरपर्दो सेवा दिन सकिने उनले उल्लेख गरे ।

हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवा विश्वभर अझै सान्दर्भिक रहेको बताइन् । विशेषगरी दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन हुलाकले निर्वाह गरेको भूमिकाका कारण अन्तर्राष्ट्रिय पुरस्कारसमेत प्राप्त हुनु गौरवको विषय भएको उनको भनाइ थियो ।

उनका अनुसार हुलाक सेवा क्रमशः स्मार्ट अवधारणातर्फ अघि बढ्दै आधुनिकीकरणको चरणमा प्रवेश गरिरहेको छ । बदलिँदो प्रविधि र नागरिकको आवश्यकताअनुसार सेवाको स्वरूप परिवर्तन गर्दै यसको पहुँच र प्रभावकारिता बढाउनुपर्ने उनले बताइन् ।


Read Previous

विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण: इप्पानद्वारा स्वागत, दर महँगो भएको भन्दै पुनरावलोकनको माग

Read Next

काठमाडौं उपत्यकामा शनिबार र आइतबार विद्युत् आपूर्ति प्रभावित हुन सक्ने, १३२ केभी प्रसारण लाइनको तार फेरिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar