
काठमाडौं । सरकारले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहिकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मैनालीलाई सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय गरेको हो। गोपाल प्रसाद सिग्देल रिटार्यड भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै बैठकले पाँच वटा मुख्य निर्णय गरेको जानकारी दिए।
बैठकले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिएको छ।
त्यस्तै, नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ पनि स्वीकृत गरेको छ।
यसैगरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्का पाँच निर्णय
- नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन कार्यक्रमका लागि नर्वेजियन सरकारको करिब १० करोड रुपैयाँ बराबरको अनुदान स्वीकार गर्न स्वीकृति।
- नेपाल इन्जिनियरिङ सेवा, गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत।
- वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत।
- जेनजी आन्दोलनसम्बन्धी फौजदारी मुद्दा फिर्तासम्बन्धी बाबुराम रेग्मी नेतृत्वको समितिको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने।
- सहसचिव पद्मकुमार मैनालीलाई इन्जिनियरिङ सेवातर्फ सचिवमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन।

