Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

म्याग्दी खोलामा एचआइडिसिएलको २० प्रतिशत लगानी


काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । एचआइडिसिएलले हाइड्रो भिजन प्रालिले प्रवर्द्धन गरेको म्याग्दीस्थित आयोजनामा स्वपुँजीको २० प्रतिशत लगानी गर्न लागेको हो ।

सार्वजनिक निजी साझेदारी (पिपिपि) अवधारणाअनुसार लगानीको दायरालाई फराकिलो बनाउँदै लैजान निजी क्षेत्रले अघि बढाएको आयोजनामा स्वपुँजी लगानी गर्ने निर्णयमा एचआइडिसिएल पुगेको हो । एचआइडिसिएलले आयोजनामा स्वपुँजी लगानी प्रवर्द्धक कम्पनीसँग सम्झौता गरेको छ ।

लगानी सम्बन्धी सम्झौतामा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष रामेश्वर थापाले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरपछि गौतमले एचआइडिसिएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी गरेको यो चौथो आयोजना भएको बताए ।

‘बैंकहरूसँग मिलेर ऋण लगानी गर्ने मात्र नभई एचआइडिसिएलले राम्रा आयोजनामा स्वपुँजी लगानी पनि गर्छ,’ उनले भने, ‘आगामी दिनमा अन्य आयोजनामा पनि लगानी गर्दै जाने योजना अनुसार काम गरिरहेका छौं ।’ उनले प्रवर्द्धक कम्पनीले तोकिएको तालिकाअनुसार नै निर्माण पूरा गरेर विद्युत उत्पादन सुरु गर्नमा आफु विश्वस्त रहेको बताए ।

आयोजनामा अब हाइड्रो भिलेज, एचआइडिसिएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । मलेसियन कम्पनीसँग यसअघि नै स्वपुँजी लगानी गर्ने विषयमा सम्झौता भइसकेको छ । एचआइडिसिएलले सुझाए जस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे । उनले अहिले आयोजना स्थलसम्म पहुँच सडकको निर्माण कार्य भइरहेको जानकारी दिए ।

धवलागिरि हिमालको आधार शिविर नजिकै यो आयोजना निर्माण हुने हुँदा पर्यटकीय महत्त्व बोक्ने प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए । ‘हाम्रो आयोजनाका संरचनाको निर्माण कार्य अघि बढाउन पूर्व तयारीका कामहरू धमाधम भइरहेका छन्,’ उनले भने, ‘पहुँच सडक पुगेपछि काम सुरु हुन्छ ।’ आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न शिक्षा, स्वास्थ्य, सञ्चार तथा रोजगारीका सम्भावनालाई पनि उच्च प्राथमिकता दिएर काम गर्ने पनि उनले बताए ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) भइसकेको छ । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ३३ करोड ४० लाख युनिट (३३४ गिगावाट घन्टा) विद्युत उत्पादन हुने अध्ययनले देखाएको छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत विद्युतगृहदेखि १७ किलोमिटर दुरीमा प्राधिकरणले निर्माण गर्ने डाँडाखेत सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन प्रवर्द्धक कम्पनीले निर्माण गर्नेछ । प्राधिकरणसँग गरिएको पिपिए अनुसार कम्पनीले २०८२ साल असोज भित्र विद्युत उत्पादन गर्नुपर्ने तालिका छ । यो आयोजना सम्पन्न गर्न १० अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा ७५ प्रतिशत लगानी बैंकहरूले गर्दैछन् भने २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।


Read Previous

पेट्रोलियम प्रतिस्थापनको विकल्प बन्न सक्छ हरित हाइड्रोजन

Read Next

जलाशययुक्त आयोजनामा लगानी गर्न ऊर्जा मन्त्रीको बेलायतसँग आग्रह

Leave a Reply

Your email address will not be published.