Nepal Purbadhar

नेपाली आईटी कम्पनीलाई विश्व बजारसँग जोड्दै नास-आईटी, स्वीट्जरल्यान्डमा टेक रोडशो


काठमाडौं। नेपाली सूचना प्रविधि कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) ले स्वीट्जरल्यान्डमा ‘नेपाल टेक रोडशो स्वीट्जरल्यान्ड २०२६’ आयोजना गरेको छ।

नास-आईटीको आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा सेप्टेम्बर १६ मा ज्युरिखमा आयोजना गरिएको रोडशोमा नेपाल र स्वीट्जरल्यान्डका व्यवसायी, प्रविधि क्षेत्रका प्रतिनिधि, लगानीकर्ता तथा अन्य सरोकारवालाको सहभागिता थियो।

कार्यक्रममा नेपालको बढ्दो आईसीटी क्षेत्र, दक्ष जनशक्ति, डिजिटल नवप्रवर्तन तथा आईटी निर्यातको सम्भावनाबारे प्रस्तुति तथा छलफल गरिएको थियो। साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), सफ्टवेयर विकास, साइबर सुरक्षा, क्लाउड सेवा, डेटा इन्जिनियरिङ र डिजिटल रूपान्तरणलगायतका क्षेत्रमा नेपाली कम्पनीको क्षमता प्रस्तुत गरिएको थियो।

नास-आईटीका अध्यक्ष दिपेन चापागाईंले नेपाली आईटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो क्षमता प्रस्तुत गर्दै नयाँ व्यावसायिक अवसर र साझेदारी विस्तार गर्नुपर्ने बताए।

नेपाली आईटी कम्पनीका सेवा तथा प्रविधि समाधानलाई विश्व बजारसम्म पुर्‍याउने उद्देश्यले विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको बताउँदै उनले यस्ता कार्यक्रमले नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय र साझेदारीका अवसर खोज्न सहयोग गर्ने बताए।

नास-आईटीले यसअघि अस्ट्रेलिया, अमेरिका र बेलायतमा समेत टेक रोडशो आयोजना गरिसकेको जनाएको छ।

कार्यक्रममा एसएनसीसीले नेपाल-स्वीट्जरल्यान्ड व्यापार तथा प्रविधि सम्बन्धका साथै नेपाली आईटी कम्पनी र स्वीस व्यवसायबीच सहकार्यका सम्भावनाबारे जानकारी दिएको थियो।

रोडशोमा नेपालका १७ ओटा आईटी कम्पनीले एक-एक मिनेटको कम्पनी पिचमार्फत आफ्ना सेवा, विशेषज्ञता र प्रविधि समाधानबारे जानकारी दिएका थिए।

कार्यक्रममा नेपाली कम्पनीले एआई, साइबर सुरक्षा, प्रडक्ट डेभलपमेन्ट, आईटी सर्भिसेस, बीपीओ, कस्टम वेब तथा एप्लिकेसन डेभलपमेन्ट, क्लाउड इन्फ्रास्ट्रक्चर र डेटा इन्जिनियरिङलगायतका क्षेत्रमा गरेका काम तथा उपलब्धि प्रस्तुत गरेका थिए।

त्यस क्रममा सम्भावित व्यावसायिक सहकार्य, साझेदारी, लगानी तथा अन्तर्राष्ट्रिय बजार विस्तारका अवसरबारे सहभागीबीच छलफल भएको थियो।

नास-आईटीले नेपाली प्रविधि उद्योगको अन्तर्राष्ट्रिय प्रवर्द्धन र विश्व बजारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विभिन्न देशमा टेक रोडशो आयोजना गर्दै आएको छ। स्वीट्जरल्यान्डको रोडशो पनि नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय व्यवसाय, लगानी तथा सहकार्यका सम्भावनासँग जोड्ने प्रयासका रूपमा आयोजना गरिएको नास-आईटीले जनाएको छ।

रोडशो स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) लगायत साझेदार तथा सरोकारवालाको सहयोगमा आयोजना गरिएको थियो। स्विस नेपाल चेम्बर अफ कमर्स कार्यक्रमको सह-आयोजकका रूपमा रहेको थियो।


Read Previous

२२ महिनापछि पक्राउ परे सई यादव हत्या प्रकरणका मुख्य अभियुक्त

Read Next

सिप्रदीको सर्भिस सेन्टरमा अब राति ९ बजेसम्म सेवा, व्यावसायिक सवारीधनीलाई सहज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar