Nepal Purbadhar

चिलिमेको सुरुङको अन्तिम किनारासम्म पुग्यो गोताखोर टोली, तीन शव फेला


काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजीमा खटिएको गोताखोरसहितको उद्धार टोली सुरुङको अन्तिम किनारासम्म पुगेर तीन वटा शव फेला पारेको छ।

नेपाली सेनाका अनुसार भदौ १० गते आएको विनाशकारी बाढीपछि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, विदेशी विज्ञ तथा गोताखोरसहितको संयुक्त टोली परिचालन गरिएको थियो। बाढीका कारण सडक तथा पहुँचमार्गमा क्षति पुगेकाले उद्धारका लागि आवश्यक उपकरण सुरुङसम्म पुर्‍याउनु नै चुनौतीपूर्ण बनेको थियो।

उद्धार कार्यका लागि आवश्यक एक्साभेटर र लोडर हेलिकप्टरमार्फत स्याफ्रुबेसीमा पुर्‍याइएको थियो। त्यसपछि चट्टान फोड्दै करिब १ हजार ५० मिटर बाटो निर्माण गरी ती उपकरण सुरुङसम्म पुर्‍याइएको सेनाले जनाएको छ।

उपकरणको प्रयोग गरी सुरुङभित्र थुप्रिएको चट्टान, लेदो तथा अन्य भग्नावशेष हटाउँदै उद्धार टोली अघि बढेको थियो। भग्नावशेष हटाउने क्रममा सुरुङको करिब ७० मिटर भित्री भागमा पानी निस्किरहेको प्वाल फेला परेको थियो। उद्धार टोली सोही प्वालबाट प्रवेश गरी करिब १३० मिटरसम्म पुगेको थियो।

तर त्यसपछिको भागमा पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेको पाइएपछि एक्साभेटर प्रयोग गरेर थप अगाडि बढ्न सम्भव नभएको सेनाले जनाएको छ। त्यसपछि पानीभित्र खोजी तथा उद्धार गर्न सक्ने गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

सेनाका अनुसार भदौ ३१ गते गोताखोरसहितको टोली उक्त प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म पुगेको थियो। सो क्रममा तीन वटा शव फेला परेका हुन्।

फेला परेका तीन शवमध्ये दुई वटा उद्धार गरी सुरुङबाट बाहिर निकालिएको छ। बाँकी एउटा शव बाहिर निकाल्ने कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।


Read Previous

चिलिमेमा मानवीय क्षतिले मर्माहत छु : कुलमान घिसिङ

Read Next

होचा तथा गहिरा कजवेका कारण कोशी राजमार्गमा सवारी सञ्चालनमा समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar