Nepal Purbadhar

‘मधेशका सर्वसाधारणलाई नाकामा दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ’: अर्थमन्त्री


‘सीमा रक्षक मधेशका दाजुभाइ–दिदीबहिनीलाई नाकामा दुःख हुन दिँदैनौँ, तस्करविरुद्ध भने निर्मम छौँ’ : अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सीमा क्षेत्रमा घरायसी प्रयोजनका लागि सामान ल्याउने सर्वसाधारणलाई कुनै किसिमको दुःख नदिने तर संगठित तस्करीविरुद्ध सरकार कडाइका साथ प्रस्तुत हुने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुख्यालय वनस्थलीमा बिहीबार आयोजित ‘नागरिक, नीति र नेतृत्व’ विषयक अन्तर्क्रियामा बोल्दै अर्थमन्त्री वाग्लेले सीमामा हुने राजस्व चुहावट र संगठित तस्करी नियन्त्रणसँगै सर्वसाधारणको सहज आवतजावत र घरायसी सामान ल्याउने अधिकारलाई ध्यान दिनुपर्ने बताए।

उनले लामो समयदेखि आर्थिक ऐनमा विदेशबाट नेपालमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु ल्याउँदा कर लाग्ने व्यवस्था रहेको बताए। उक्त व्यवस्था वर्तमान सरकार वा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बनेको नभई लामो समयदेखिकै रहेको उनको भनाइ थियो।

‘एक सय रुपैयाँले के नै आउँछ? एक किलो चिनी, एउटा साबुन, एउटा मन्जन वा कापी–कलम पारीबाट ल्याउँदा कर असुल्नु अस्वाभाविकै हो,’ उनले भने, ‘त्यसैले हामी सरकारमा आएपछि यसलाई बढाएर पाँच सय रुपैयाँ पुर्‍यायौँ।’

कर लाग्ने सीमा थप बढाउने विषयमा समेत छलफल भएको उनले बताए। एक हजार, दुई हजार वा दुई हजार पाँच सय रुपैयाँसम्म पुर्‍याउने विषयमा छलफल भए पनि त्यससँगै बजार र राजस्व नीतिका अन्य पक्षलाई समेत ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताए।

उनका अनुसार सीमाबाट सामान ल्याउन केही कडाइ गरेपछि नेपालतर्फका बजार चलायमान हुन थालेका छन्। ‘नेपालतर्फका बजारहरू सुकेका थिए। हामीले पारीबाट सामान ल्याउन थोरै कडाइ गर्दा नेपालतर्फका बजारहरू पछिल्लो समय गुल्जार भएका छन्। व्यापार फर्कियो, व्यापार तंग्रियो भनेर नेपालतर्फका व्यापारीहरू खुसी छन्,’ उनले भने।

तर, घरायसी प्रयोजनका लागि सीमापारि गएर सामान किनेर ल्याउने सर्वसाधारण र संगठित तस्करीमा संलग्न समूहलाई एउटै दृष्टिले हेर्न नहुने उनले बताए।

‘सिधासाधा मधेशका दिदीबहिनी तथा दाजुभाइ पारी गएर घरायसी प्रयोगका लागि सामान किन्नुहुन्छ। उहाँहरूलाई कुनै हालतमा दुःख दिनु हुँदैन,’ उनले भने।

सीमामा संगठित तस्करीको ठूलो जालो रहेको र त्यसबाट राजस्व चुहावट तथा गुण्डागर्दीसमेत हुने गरेको दाबी गर्दै उनले सरकार त्यस्ता गतिविधिविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताए।

सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई सर्वसाधारणलाई राहत दिन र सानातिना घरायसी सामानका विषयमा व्यवहारिक बन्न आग्रह गरिएको उनले जानकारी दिए।

‘को सिधासाधा जनता हो र को तस्करीमा संलग्न छ भन्ने कुरा प्रहरीलाई राम्रोसँग थाहा छ र प्रहरीले यो छुट्याउन सक्छ। त्यतातिर मात्र प्रहार गर्ने हाम्रो रणनीति हो,’ उनले भने, ‘आम मधेशी दाजुभाइ तथा दिदीबहिनीहरूलाई दुःख नदिने र सानातिना कुरामा आँखा चिम्लिने विषयमा हामी उदार छौँ। तर तस्करहरूविरुद्ध भने हामी निर्मम नै हुनेछौँ।’

अर्थमन्त्री वाग्लेले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि नागरिकस्तरबाट समेत सुझाव आवश्यक रहेको बताए। मधेशमा देखिएका समस्या सरकारलाई जानकारी गराउन आग्रह गर्दै उनले भन्सार तथा प्रहरी प्रशासनलाई थप जनमैत्री बनाउन नागरिकका सुझाव सुन्न सरकार तयार रहेको बताए।


Read Previous

उपत्यकाको फोहर व्यवस्थापनमा नयाँ कार्ययोजना: पालिकाहरूले आफ्नो फोहर आफैँ व्यवस्थापन गर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar