
काठमाडौं । निजी क्षेत्रले निर्माण गर्न लागेको सबैभन्दा ठूलो ४४० मेगावाटको तिला–१ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापन भएको छ। आयोजनाको २९८ मेगावाट क्षमताका लागि विभिन्न ११ ओटा बैंक तथा वित्तीय संस्थाले ४४ अर्ब रुपैयाँ लगानी गर्ने भएका हुन्।
प्रवर्धक एससी पावर र लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबीच मंगलबार काठमाडौंमा लगानी सम्झौता हुने भएको छ। आयोजनाको २९८ मेगावाटका लागि करिब ५८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ भने प्रवर्धकले १४ अर्ब रुपैयाँ इक्विटी लगानी गर्नेछ।
आयोजनामा एनएमबी बैंकसहित प्रभु, ग्लोबल आइएमई, हिमालयन, राष्ट्रिय वाणिज्य, एनआईसी एसिया, कृषि विकास र नेपाल इन्फ्रास्ट्रक्चर बैंक तथा विभिन्न विकास बैंक र लगानी कम्पनीले लगानी गर्नेछन्।
यो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हाल २९८ मेगावाटको मात्रै विद्युत् खरिद सम्झौता गरेको छ। आयोजनाको बाँकी १४२ मेगावाट विद्युत् भारत निर्यात गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको हेडवर्क्स र सुरुङ भने ४४० मेगावाटकै क्षमतामा निर्माण गरिनेछ। निजी क्षेत्रले विद्युत् व्यापारको अनुमति पाएपछि पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी भारत निर्यात गर्ने प्रवर्धक कम्पनीको लक्ष्य छ। ४४० मेगावाटको पूर्ण आयोजना निर्माण गर्न करिब ६८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
